Thursday, August 16, 2012

मुन्धुम र भौतिकवादी चिन्तन !

by Gajen Yakthungba on Thursday, July 26, 2012 at 1:03pm ·
    मुन्धुम संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने बिषय वा सार संक्षेप नै वास्तविक मुन्धुमको सारतत्व हो| मुन्धुम शब्दको उत्पति मुन्_ हल्लिनु,थुम +दुम=जोडिनु,मुन्दुम_ मुन्धुम हुन्छ| अथवा हल्लि रहने शक्तिशाली तत्व जोडिएर कुनै अर्थ लाग्ने वस्तु वा सृजना हुने शब्दको नाम नै मुन्धुम हो| मुन्धुमको अर्थ खाम्बोङ्मा लुङ्बोङ्मा अथवा सावायेतहाङ्हरुको प्राचिन भाषा,माङ्वाणी(माङ् ईङ्घङ्_इश्वरको वाणी)देवभाषा जो मुहिगुम आङ्सी देव आङ्सीहरुको वाणी वा मौखिक शाश्त्रादीहरुलाई मुन्धुम सक्सक मुन्धुम भनिएकोछ| मुन्धुम भित्र थकसाप मुन्धुम(मौखिक शास्त्र_ श्रुति परम्परा) सक्सक मुन्धुम(कागज शास्त्र) र साम्यो मुन्धुम(धर्म शास्त्र) यी शास्त्रहरुलाई समग्रमा साम्जिक वा चाम्जिक मुन्धुम मानिएकोछ|
    श्रुति कथा,आख्यान,साहित्य र गाथाहरूको समष्टि रुप नै मुन्धुमको आधार हो| थुङ्साप मुन्धुम(श्रुति शास्त्र)साक्मुरा वादेम्मा मुन्धुम अनुसार मुजिङ्ना खेयङ्ना(ईश्वर रुपी स्त्रीरुप) मस्त जवानी भइ यौन तृष्णाले छटपटिदा सुइसुइला खेल्दै रुख माथी खुट्टा हल्लाएर हावा खाइ बस्दा (कालो वायु ईश्वर_ माङ्को विर्य)हावाको माध्यमले मुजिङ्ना खेयङ्नाको योनिमा प्रवेश गरि गर्भ धारण गरि जन्मेका ''युकपुङ्गेन सावाङ्गेम्बा''नै प्रथम मानव पुत्र मानिन्छ| अर्थात् शाश्त्रिय मुन्धुमी भाषाले भन्छ कि_   सुनले बनाउँदा मान्छे बनेन,चाँदीले मान्छे बनाउँदा पनि बनेन,अर्को शब्दमा तत्वले मान्छे बनेन| बाजे बाट बाबु आयो,बाबु बाट छोरा आयो,छोरा बाट नाती आयो अर्थात् जीवन बन्नलाई जीवन नै चाहिन्छ| यसलाई अंग्रेजीमा Law Or Theory Of biogenesis भनिन्छ| मुन्धुम अनुसार जिवांश भनेको सिमिक्ला खाप्पू,वाहिचेल्लेक्ना,वादम पकवा वा आकाशे पानी जो ढुङ्गाको खोपिल्टो वा कुनै पानी जम्ने ठाउँमा जम्मा भइ त्यो पानीमा आवश्यक जिवांशुहरु जम्मा हुन गइ ''तागेरा निङ्वाभुमाङ्'' (सर्वब्यापी ईश्वर)को आशिर्वादले मात्र मानिसको सृष्टि भयो| यसरी मानिस वा जीवको उत्पति हुने सिद्धान्तलाई नै मुन्धुमले अघि सारेकोछ| मुन्धुममा थुप्रै माङ्हरु उत्पन्न भइ बिभिन्न सृजनाहरु गरेको मुन्धुममा वर्णन पाइन्छ| तर बुझ्नु पर्ने कुरा के हो भने समय क्रम अनुसार ब्रह्माण्ड र पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरु परिवर्तन हुँदै जाने निश्चित अवस्थालाई श्रुति परम्परामा माङ्(ईश्वर)को उपस्थिति मानिएकोछ| डार्विनको विकासवादी सिद्धान्त अनुसार बाँदरले मानिसको रुप लिनु पुगेको हो| त्यो वैज्ञानिक तथ्यलाई स्वीकार्नै पर्छ| तर अब संसारका बाँदरहरु बाँदर नै रहिरहन्छन्| बाँदरबाट मान्छे बन्ने वातावरणको परिवर्तन क्रम गुज्री सकेकोछ|  यो वैज्ञानिक तथ्यलाई स्विकार गर्दछौं भने_''थो खाम्दी फिरिरो खाम्लन्दी सा:मा(सा:मेन्छा)लुङ्दी छिरीङ्,लुङ् बोङ्वा सा:मा,थाप्साङ् लन्देंन लन्देआङ्, थो फक्ताङ्लुङ्मेत्थो पेन्वेन वानेत्थो,चुक्मुनेंछिंङ्गाङ्,चुक्मुलेरेल्य'' भन्ने शाश्त्रिय मुन्धुमी काव्यलाई पनि स्विकार गर्नै पर्छ| जब फक्ताङ्लुङ् पेन्वेलुङ्मा माङ्जिरी माङ्ल:दा(माङ्गन तेम्बे)तेनमा ढुङ्गा माटो र हावा_  पानी द्वारा जन्म भएकी मुजिङ्ना खेयङ्ना मस्त जवानी हुन्छिन् अनि मुन्धुमी भाषामा यसरी गर्भ धारण हुन पुग्छिन्_
लक्लेलक लक्ले पेलिरक पान्लो
थो सिन्युक पिवारो मुदेन पिवारो
थो सुरवित तेम्बे काम्फोना तेम्बे
थोसु ईङ्वेल्लो खाङ्ला ईङ्बेन्न
लाक्लेलक लक्ले पेली र पारे
यो साङ्गफे कफे नाङ्वामा चङ्धो
मुजिङ्ना माङ् खेयङ्ना माङ्
कुजेक...
सिसाकेरेआङ् मेंछिंङ् केरेआङ्
साम्मि:त मुक्तेआङ् केजङ् मुक्तेल्ले
यो साङ्गफे कफे नावामा चङ्धो
लिङ्गफे कफे नावामा चङ्धो
केरुङ् तोसेल्ले कुहीम तोसेल्ले
साम्मि:क् मुक्ती,केजङ्रक् मुक्ते
साम्मित्ले मु:नु केजङ्ले मुतुआङ्
मुजिङ्ना माङ्ग,खेयङ्ना माङ्ग
आबुरक ला:रुरो खारुङ्रक् ला:रुरो||
    मुन्धुममा यसरी सर्बप्रथम मानवको गर्भ धारण हिमालमा भएकोछ| यता रुसी आँखा अनुसन्धानकर्ता एवम् वैज्ञानिक इरष्ट मोल्डसिभको इन्टरनेशनल एकाडेमी अफ् साइन्स यून(१९९६)द्वारा प्रकाशित इन्टरनेशनल एक्सपेडिसन फर ह्युमनिटी ओरिएन्टल रिसर्च(International Expedition For Oriental Research) र मानसरोवर छेऊछाउ भएको उल्लेख गरिएकोछ| त्यहाँ उत्पति भएका मानवहरु विकशित अवस्थामा पुगेर चारतिर लागेका थिए| मुन्धुममा उल्लेख गरिएको संसारको सृष्टि बारे चाख लाग्दो र वैज्ञानिक दृष्टिकोण सँग मेल खाने धेरै शाश्त्रिय मुन्धुमी भाषाहरुको प्रयोग भएको पाइन्छ| युकपुङ्गेन सावाङ्गेम्बा सिकार गर्न फङ्दुरा (काँस) चङ्धो वेक्तुरा चङ्धो उकालो लाग्छन्| मुन्धुम अनुसार उसबेलाको माङ्गन तेम्बे(फाँट)''माङ्हरुको घुमफिर गर्ने ठाउँ वा समतल मैदान,वर्तमान फक्ताङ्लुङ् वरिपरी''तिर उकालो लागेको ब्याख्या भए बाट के बुझिन्छ भने अहिले उभिएका पहाड र हिमालहरु अग्लिने क्रम जारि थियो| अहिलेको जस्तो विशाल हिमाल पर्वत भएर अग्ली सकेको थिएन र नदी किनार तिर काँसका गाँजहरु फुलेको थियो| भूगर्भशास्त्रीहरुको मत अनुसार हिमाल भूखण्डको निर्माण आजभन्दा करिब साढे २ करोड वर्ष अगाडि उत्तरको लुरेसिया र दक्षिणको गोण्डवाना ल्याण्डको रुपमा बाँडिएका जमीनका केवल दुइवटा ठूला भूखण्डहरु साढे ६ करोड वर्ष अगाडि आएर वर्तमानका बिभिन्न द्वीपहरुमा बाँडिनु अगाडि वर्तमान नेपालको भूभाग टेथिस सागरको गर्भ भित्र लुकेको थियो| (मेहरी दत्ता_  १९८५:१५- १७)वर्तमानको दक्षिण एशियाली उपमहादीप सरिसृपहरुको युग अथवा मध्य जिवकल्प (Mesozoic) सम्म अफ्रिकी महादेश सँग जोडिएको थियो| पछि आएको भौगोलिक हलचलमा समुन्द्रको दक्षिणी पिँध पेलिने तर उत्तरको तिब्बती ढालले सर्ननदिने हुँदा समुन्द्र सतह धेरै चुलिंदै गएको थियो| यो परिवर्तनको लहरमा कतिपय जमिनका उच्च भूभागहरु समुन्द्रमा धस्न गयो| र उत्तर तर्फ भएको टेथिस सागरको भूभाग माथी उठ्न गइ चुरे,महाभारत र कतिपय उच्च पहाडी भूभागको निर्माण हुन पुग्यो| तिब्बतीय पठार तिर विशाल धिक्के नून खानी हुनुलाई त्यहिं समुन्द्रको नूनपानीलाई कारण मानिएकोछ| यी वैज्ञानिक तथ्य अनुसार आज देखिएको पाहाड,हिमालहरु एकै पल्ट निर्माण भएका थिएनन्| समुन्द्री टेथिस अग्लो हुने क्रम सँगै त्यहाँ भएका एककोषीय जीवहरू पनि पानीको सतहमा आएका थिए| डार्विनको विकाशवादी सिद्धान्त अनुसार अमिबा बाट जीवहरू र मानव सम्मको विकास भएको हो| यो बिकास हुने क्रम पहाड र हिमालको अग्लाई सँगै एकैसाथ हुँदै गयो| मुन्धुमले पनि यहीं विकासवादी सिद्धान्तकै आधारमा ब्रह्माण्ड र संसारको सृष्टि,जीवहरुको उत्पति र फक्ताङ्लुङ्मा(कुम्भ कर्ण हिमालमा) ढुङ्गा माटो द्वारा मुजिङ्ना खेयङ्नाको जन्म भएको थियो| जीवहरुको उत्पति र विकास हुने भैसके पनि अहिले देखिएको पहाड र हिमाल भने क्रमस:अग्लिँदै जाँदा अहिलेको अवस्थामा पुगेकोहो | अफ्रिकामा पाइने ''लुसी''भनिने मानव भग्नावेशलाई वर्तमान मानवको पहिलो पुर्खा भनेर पश्चिमी अनुसन्धानकर्ताहरुको दाबी रहे पनि बहुमत मानवशास्त्रीहरु एशिया क्षेत्र नै मानव उत्पति स्थल हुनु पर्छ भन्ने निर्क्यौलमा एकमतछन्| हिन्दु धर्म शास्त्रले मानव उत्पति स्थल हिमाल तिर भएको शंकेत गर्दछ| यहीं शंकेतलाई मुन्धुमले बिस्तृत रुपमा वर्णन गरेकोछ| ईतिहास र संस्कृतिविद भुवनलाल प्रधानका अनुसार एक करोड वर्ष भन्दा अगाडी नै हिमाली भेगको फेदीमा प्रागमानवको प्रादुर्भाव भइ सकेको थियो| मुन्धुम भित्रको यथार्थ नै मिथक हो| मिथकमा वर्णन गरिएको खाम्जिरी खाम्बोङ्साहरु यहीं फक्ताङ्लुङ् पेन्वेनलुङ् वरिपरी उत्पति भएका तागेरा निङ्वाफुमाङ्(सर्वब्यापी ईश्वर) का सन्तानहरु हुन| जो वास्तविक (Indigenious) हुन्| याक्थुङ् लाजे लिम्बुवानमा नाम फेरिनु अघि याक्थुङ् लाजेमा सावायेतहाङ् आठ राजाका सन्तानहरुले राज्य गर्दै थिए| उनीहरुको उता विशेषता के थियो भने हरेक देव देवी र प्रतिष्ठित व्यक्तिहरुको नाम ''य'' वर्ण बाटै राखिएको थियो| जस्तो_ याक्थुङ्बा,येहाङ्,युकपुङ्गेन,यकलब्यहाङ्,येबा,यलम्बाहाङ्,युमा,येमा आदि|
    सम्भवतःउनै सावायेतहाङ्का सन्तान दरसन्तानहरु नै मुजिङ्ना खेयङ्नाका सन्तान हुन्| तिनै सु:सुबेङ्ला: लाबेङ् वा सु:सुवालि:लिम (ढुङ्गा माटो सँगै जन्मिएका मूलबासी)याक्थुङ्बा हरुलाई नै आगन्तुक शाषकहरुले ''सु;सुवालि पलिम''भन्दा भन्दै लिम्बू भनिएको हुन सक्ने सम्भाव्यतालाई इतिहासकारहरुले स्विकारेकाछन्| तिनै सावायेतहाङ्का सन्तानहरुले उक्त मुन्धुमी श्रुति परम्परामा आधारित शाश्त्रिय ऐतिहासिक काव्यहरुको थालनी गरेका थिए| येहाङ्को त्यो संसारको सृष्टि,मानव उत्पति कथा तथा मानव विकास र धार्मिक एवम् सांस्कृतिक श्रुति परम्परालाई एक पुस्ता बाट अर्को पुस्तामा सार्दै ल्याई रहेका थिए,सर्दै आइ रहेकोछ| मुन्धुमले वर्णन गरे झैं हिमालमा मानवको उत्पति र विकास बारे हिमालमा पाइएका शालिग्राम र नवपाषाणकालिन ढुङ्गाको हतियारहरु ताप्लेजुङ्,इलाम,झापा,सुनसरी,मोरङ्,उदयपुर,दोलखा,मुस्ताङ्,रामेछाप,सुर्खेत,काभ्रेपलान्चोक,ललितपुर,तनहुँ,कास्की,दाङ् देउखुरी,मकवानपुर र नवलपरासी आदि स्थानमा पाइएकाछन्| यी हतियारहरुले के शंकेत गर्दछ भने यिनै हिमाल पहाडको आसपास मानवको उत्पति भइ नवपाषाणकालिन युगमा यी स्थानहरुमा मानिसहरुको ब्यापक बसोबास भइ सकेको थियो| तर गाउँ घरमा आफ्ना हजारौं वर्ष अघिका पुर्खाको ढुंगे हात हतियारहरु नचिनेर बज्र ढुङ्गा ( सेरी लुङ् ) लाई पूजा गर्ने साथै औषधीको रुपमा प्रयोग गर्ने चलन रहेकोछ| भूगर्भ शास्त्रीहरुको मत अनुसार नेपालको अधिकांस उपत्यकाहरू तलाउको रुपमा थिए| आजभन्दा २ लाख वर्ष अगाडि धाद्रा लागि पानी निस्किएर गएको अनुमान गरिएकोछ| तिनै समुन्द्रको टेथिस अग्लिएर उपत्यका बनि पानी निस्के पछि बनेको समतल मैदानहरूलाई मुन्धुममा तेम्बे(समतल मैदान) शब्दले पुकारिएकोछ| मुन्धुममा वर्णन गरिएका केहि तेम्बेहरुको नाम यस प्रकारछ_
मुरिङ्ला खारिङ्ला तेम्बे,साङ्गरक नु गरक तेम्बे,चेंजेन तेम्बे,चेंजेनलुङ् तेम्बे,चिङ्लिङ् हारा तेम्बे,काप्लिङ् तेम्बे,मिनुताखोङ् तेम्बे,तेल्लेङ् तेम्बे,मुना तेम्बे,नाखोङ्लुङ् तेम्बे,पुङ्लिङ् तेम्बे,फेसिङ् तेम्बे,इवाहडा तेम्बे,साघोङ्लुङ् तेम्बे,खङ्फोना तेम्बे,माङ्गन तेम्बे,सुरवित तेम्बे,खोंदोप्ला तेम्बे,साजारा तेम्बे,तुङ्सावा तेम्बे,लिङ्घायक तेम्बे...जस्ता कैयौं तेम्बे(फाँट)हरुको वर्णन भएकोछ|यी वर्णन भएका मुन्धुमका तेम्बेहरुमा मानव उत्पति र सभ्यताको विकास भएको बिश्वास गरिन्छ| यसरी मुन्धुम र भौतिकबादी तथ्यहरुमा तारतम्य मिल्नु संयोग मात्र नभई मुन्धुमले वर्णन गरेका भौतिकबादी तथ्यहरुलाई केलाउँदै जान सके अलंकारि मुन्धुमी भाषाको दृष्टिकोण पाठकहरु सामु स्पष्ट हुँदै जानेछ|
सन्दर्भ सुची_
(१) चन्द्र कुमार शेर्मा- किरात धर्म प्रश्नोत्तर माला भाग १
(२) जसराज पन्धाक_ लिम्बू जनजाति पछिको जीवन धारणा तथा अन्त्येष्टि अनुष्ठानहरु|
(३) लिङ्देन फुङ् सराही साम्बा हाङ्यम्बु भिम बहादुर लिबाङ् र येजिरी येफ:या हाङ्यम्बु वृष बहादुर वनेम_ मुजोकलुङ्,खाम्जोकलुङ् मुन्धुम|
(४) निलम शेखर अधिकारी: नेपाल जातीय आन्दोलन|
( साभार: मेरो लिम्बुवान ) 

No comments:

Post a Comment