Tuesday, August 14, 2012

पेशाले इन्जिनियर, दाजु प्रमोद श्रेष्ठ ज्युको यो लेख

पेशाले इन्जिनियर, दाजु प्रमोद श्रेष्ठ ज्युको यो लेख तपाइहरु सबैले गहन अध्यन गर्नुहोला,,,

"केहि बर्ष अगाडि अंग्रेजिभाषामा लेखेको यो लेखलाइ खसभाषामा उल्था गरेर पुन: सार्वजनिक गर्न चाहन्छु। लेख नेवारभाषा आंशिक वा पूर्णरुपले बिर्सिएका नेवार समुदायलक्षित छ, तर अन्य गैरखस आदिवासि जनजातिहरुको निमित्त पनि सान्दर्भिक छ भन्ने ठान्दछु, कृपया नेवार शब्दलाइ राइ लिम्बु मगर गुरुङ तामाङ आदिको रुपमा पनि बुझिदिनुहोला ।"

हामीकहाँ स्वच्छ दिल हुँदाहुँदै पनि गलत सुचनाले नराम्ररी दिमाग बिटुलिएका नेवारहरु यथेष्ट छन जो नेपालको वर्तमान अवस्थालाइ असाध्यै गलत तरीकाले बुझीरहेका छन । दुर्भाग्य, राज्यस्रोतबाट सञ्चालित संचारमाध्यमहरु "खसभाषा मात्रै" नीति अख्तियार गरी बसेका छन, निजिस्रोतबाट सञ्चालित संचारमाध्यमहरु पनि धेरैजसो त्यस्तै छन । यी "खसभाषा मात्रै" नीति अंगाल्ने संचारमाध्यमहरुले कुनै पनि मुल्यमा खसभाषा बोल्ने र खसभाषी मानिसहरुमात्रै सत्ता र शक्तिमा पुग्ने वातावरण बनाउन सघाइरहेका छन, जसको प्रत्यक्षमारमा आदिवासि जनजाति समुह परेका छन ।

दु:खलाग्दो घटनाको उदाहरण हेर्नुहोस । अचेलका नेवारले यस्तो लेखेको उदाहरण देख्न पाइन्छ ।
जात: नेवार
थर : श्रेष्ठ, महर्जन, तुलाधर, डंगोल वा यस्तै चीरपरिचित नेवार थर ।
भाषा: नेपाली (वास्तबमा खसभाषा जनाउन खोजेको हो, तर उनलाइ बच्चैदेखि खसभाषाको नाम "नेपाली" घोकाइएको हुनाले नेपाली लेख्नु नै ठीक भन्ठान्छ ।)
हेर्नुहोस उक्त नेवार कुन दिशातर्फ लम्कँदै छ ।

नेवार मात्र हैन धेरै गैर खसजातका आदिवासि जनजातिहरु गलत सुचना पाएको हुनाले खस-भाषालाइ "नेपाली" भन्ठानेको हो भन्ने चेतना पाएको नै छैन । यो तीतो सत्य हो । यस्ता दिग्भ्रमित नेवार यूवाहरु फेसबुकतिर I am proud newar भन्दै लेख्दै हिडेको पनि देखिन्छ । तिनले "खसभाषा" र "नेपाली" बीच के फरक छ भन्ने हेक्का राखेको पाइदैन । ती मध्ये धेरैलाइ त "नेवार" भाषा र "नेवारी" भाषा बीच फरक छ कि छैन, छ भने के फरक छ भन्ने पनि थाहा छैन ।

सन ८०को शुरुवाति दशकतिर काठमाँडौ भित्र र वरपरका नेवार डाक्टर, इञ्जिनियर, प्राध्यापक, ठूला ब्यापारी, उच्चपदस्थ कर्मचारी तथा अगुवाहरुले आफ्ना सन्तानलाइ नेवार भाषा नसिकाइ खस-भाषा सिकाउने अघोषित अभियान नै चलाए । ती उच्चघरानिया नेवारहरुको समाजमा इज्जत थियो, पढेलेखेका, जान्ने बुझ्ने भन्ने छाप थियो, तर तिनीहरुलाइ के कुरो थाहा थिएन भने तिनीहरुको आफ्नै मातृभाषा परित्याग गरी सन्तानलाइ समेत नसिकाउनु भनेको आफ्ना सन्तान र भविष्यको पुस्तामाथि एउटा जघन्य अपराध हो, जो तिनीहरु बिनाकारण गर्दैथिए । आफ्ना सन्तानलाइ "नेपाली" भन्दै खस-भाषा सिकाएर दिग्भ्रमित गर्नु भनेको आफ्नै मातृभाषाप्रति एउटा क्रुर भाषिक साँस्कृतिक हमला गर्नु हो भन्ने पनि तिनले थाहा पाएनन । किन यस्तो भयो? त्यो पुस्ताका पढेलेखेका नेवारमा के खरावि भएकोले यस्तो गम्भीर गलती हुन गयो होला?

भाषिक साँस्कृतिक हमला भनेको अतिक्रमणकारी आक्रमणकारीहरुले रैथाने वासिन्दाहरुमाथि नियन्त्रण जमाउन प्रयोग गर्ने एउटा पुरानो तर अचुक अस्त्र हो । यस्तो हमला इतिहासमा धेरै ठाउँमा धेरै पटक भएको छ । जस्तो कि पुर्तगाली भाषा नबोल्ने आदिवासिबिरुद्ध ब्राजिलमा, यूरोपेलि भाषा नबोल्ने रेड इण्डियनबिरुद्ध अमेरिकामा, जापानी नबोल्ने आइनुबिरुद्ध उत्तरी जापानमा, स्पेनी नबोल्नेहरु बिरुद्ध ल्याटिन अमेरिकामा, फ्रान्सेली नबोल्नेहरु बिरुद्ध पश्चिम अफ्रिकामा इत्यादि । ती सबै घटनाहरु क्रूर इतिहासका सत्यसाक्षि हुन जसले भाषिक साँस्कृतिक अतिक्रमणबाट शुरु भएको आक्रमण विस्तारित हुँदै गएर जातिय संहार (ethnic cleansing)मा टुङ्गिएको वास्तविकता अभिलेख गरेको छ । यस्तै दुर्भाग्यपूर्ण चेपुवामा नेवार समुदाय पनि परेको छ, फसिसकेको छ ।

यदि तपाइ आफ्नो भाषा एकपल्ट मात्रै बिलाउन वा दुषित हुन दिनु भयो भने पनि त्यसको पुनरुत्थान गर्न धेरै धेरै पुस्तासम्म निरन्तर कठीन संघर्ष गर्नु पर्ने हुन जान्छ । एकपल्ट भाषाको प्राधिकार हातबाट गुम्यो भने त्यो भाषा निकै छिटो लोप नै हुने खतरा हुन्छ र साथसाथै भाषासित गाँसिएको पहिचान पनि लोप हुन सक्छ । यदि नेवार बालबालिकालाइ स्कुलमा नपढाउने हो भने, घरमा बोल्न नसिकाउने हो भने, सम्भव भएको सबै ठाउँमा प्रयोग गर्ने वातावरण र प्रोत्साहन नदिने हो भने त्यसले नेवार भाषा लोप त गराउँछ गराउँछ, साथै नेवार सभ्यता, परम्परा, संस्कृति र सम्पूर्ण सभ्यता नै लोप गराउने छ । हो प्राचीन रोमन सभ्यताको दुर्दशा त्यसरी नै हुँदै जाँदा यो अहिले विश्वबाट नै लोप भइसक्यो भन्दा हुन्छ । हामी देख्छौ कि अझै रोमन धरोहरहरु ठडिएको छ, रोमन स्मारकहरु पर्यटकलाइ तान्दै छ, रोमन कला, चित्र र वास्तुकलामाथि आकर्षण घटेको छैन, तर रोमन सभ्यता मरीसक्यो । किन कि वास्तविक रोमन भाषा बोल्ने लेख्ने वा प्रयोग गर्न सक्ने मानिसहरु अब छैनन भने पनि हुन्छ । यदि नेवार सभ्यताले त्यहि बाटो पछ्यायो भने निकट भविष्यमा नै हामी के देख्नेछौ भने त्यहाँ प्यागोडा शैलिका मन्दीरहरु बाँकि हुनेछन, नेवार खाजा र परिकारहरु हुनेछ, केहि नृत्य, हाकुपटासि लुगा र गहनाहरु पर्यटकलाइ देखाउन बाँकि रहनेछ, तर नेवार आत्मा रहने छैन, ती संसारमा सर्वोत्कृष्ट मध्य एक कहलाइएको नेवार सभ्य जीवनशैली जिउने जीवन रहने छैन, नेवारभाषाको अनुपस्थितिमा बाँकि बचेखुचेका नेवार धरोहरुका जिवन्तता पटक्कै रहने छैन ।

धन्य भगवान, हाम्रा केहि नेवार यूवाहरु अझै पनि आफु नेवार हुनुमा गर्व गर्छन । वास्तबमा यी यूवाहरुले सार्वजनिक गरेको नेवार-गर्व नै हाम्रा नेवार भाषा तथा धरोहर संरक्षण संवर्द्धन गर्ने ती यूवाहरुमा प्रचूरमात्रामा रहेको इच्छाशक्तिको सार्वजनिक प्रदर्शन पनि हो । मेरो यो लेख पढीरहेका तपाइ पनि त्यो जागरुक यूवा मध्य एक हो । यहाँ के भइरहेको छ, के हुँदैछ भन्ने बुझ्न तपाइले तपाइको नजर एकदम खुल्ला राख्न जरूरी छ । तपाइ सहि तत्य र सहि कारणको निमित्त गर्वशाली बन्नु पर्छ, र सहि निर्णय तथा कार्य गर्न प्रतिबद्ध हुनु पर्छ ता कि तपाइको गर्वशाली भावनाभित्र रहेको शक्तिपुञ्ज एक यस्तो शक्तिमा परिणत हुनेछ कि तपाइका हरेक गतिबिधिहरुले तपाइलाइ एक सच्चा गर्वशाली नेवारको रुपमा चिनाउने छ । तपाइले आफ्ना सहमत बिचारका यूवाहरुसित पहिला एकता गर्नु पर्नेछ । तपाइहरु एकापसमा समान ब्यबहार गर्नु पर्ने छ, र तपाइको भाषा, साहित्य संस्कारलाइ पनि समान ब्यबहार गरोस भनेर हरेक मोर्चाहरुमा आवाज उठाउनु पर्ने छ । सरकारी स्रोतहरु कुनै एक भाषा, जाति, जात, बर्ग, क्षेत्रको मात्रै हैन सबैको बराबरी हक लाग्ने हुनाले त्यो अनुसारको ब्यबहार होओस भनेर बोल्न सक्नु पर्ने छ ।

यदि तपाइ एकताबद्ध हुनुभएन भने कसरी तपाइ हाल एकलौटी गरीरहेको खसभाषी सरकार र त्यसका समर्थकहरुलाइ दबाव दिन सक्नुहोला र? फूट र द्विविधाले तपाइ कमजोर बनेरै बस्ने हो भने म ठोकुवा गरीदिन्छु कि खस-एकाधिकारबादी सरकार र समुहले तपाइलाइ चरणबद्ध रुपमा भित्रभित्रै खोक्रो बनाउने छ । सत्ताधारी उच्च घरानिया खस शासक वर्ग तपाइ नेवारहरुको आवाज ठूलो भएको देख्न चाहदैन, तपाइ नेवारहरुको एकता बलियो भएको देख्न चाहदैन, किन कि तपाइ नेवारहरु यो देशमा उज्यालोको स्रोत हुनुहुन्छ । जब तपाइहरुको आवाज क्षितिजमा सुनिन थाल्छ, जब तपाइहरुको एकताबद्ध भइ सार्थक लक्ष हासिल गर्न जुट्नु हुन्छ तब देशमा परीवर्तन आउँछ, तपाइहरुको त्यो क्रियाकलापले नेपालका सबै रैथाने समुहहरु लिम्बु, राइ, मगर, थकाली, तामाङ, मैथिल, थारु, भोजपुरि, अबध, गुरुङ, शेर्पा र अन्य आदिवासि जनजातिहरु समेत लाभान्वित हुनेछ र सबैले सबैलाइ सम्मान गर्ने र सह अस्तित्त्व निर्माण गर्नै पर्ने बाध्यतामा खस शासकहरु धकेलिने छ । यो नबिर्सौ कि तपाइ नेवारहरु जस्तै ती सबै अन्य गैर खस जातका आदिबासि जनजातिहरु पनि तपाइहरु झै समान अवसर र अधिकारका हकदार हुन । तपाइहरु अघि बढ्नोस र सबैलाइ सम्मानपूर्वक अँगाल्नोस, वहाँहरुको आ-आफ्नै मातृभाषामा बोल्न प्रयोग गर्न घच्घच्याउनुहोस, मातृभाषा प्रयोग गर्न विर्सिसकेको जमातलाइ फेरि एकपल्ट मातृभाषा सिकेर प्रयोग गर्न सक्दो सहयोग र प्रेरणा दिनुहोस । वहाँहरुको आ-आफ्ने मातृभाषा पनि उत्तिकै "नेपाली" हो जति "खस भाषा" हो, जति तपाइको "नेवार भाषा" हो भन्ने चेतना छर्नुहोस ।

"खस भाषा"लाइ जति अधिकार र सुबिधा छ, त्यतिकै अधिकार र सुविधाको हकदार हाम्रो आफ्नो भाषा पनि हो । त्यसैले तपाइले पढ्ने पढाउने बिद्यालयहरुमा तपाइको नेवार भाषा पनि पढ्ने पढाउने ब्यबस्था चाहियो भनेर माग गर्नुहोस । इतिहास-भुगोल सामाजिक शिक्षा जस्ता बिषयहरु तपाइको आफ्नै भाषामा पढ्न पढाउन माग गर्नुहोस । तपाइका बिद्यालयको "नेपाली बिभाग"मा "खस भाषा"जानेका शिक्षक मात्रै हैन, तपाइको बिद्यालय पढ्ने हरेक जनजातिका भाषा जानेका शिक्षकहरुलाइ पनि जागिर दिनु पर्छ, दरबन्दी खोल्नु पर्छ भनेर माग गर्नुहोस । तब बल्ल त्यो बिभाग साँचो अर्थमा "नेपाली बिभाग" हुनेछ । खस भाषा मात्र पढाएर कसरी "नेपाली बिभाग" भयो त्यो? भनेर प्रश्न गर्नुहोस । "नेपालीमा लेखेको निबेदन"को रुपमा तपाइको आफ्नै भाषामा निवेदन लेखेर अड्डा अदालतमा दर्ता गर्ने प्रयास गर्नुहोस - हुँदैन भन्यो भने किन हुँदैन भनेर प्रश्न गर्नोस र खस-भाषाको एकाधिकारलाइ चुनौति दिनुहोस । "खस-भाषा"लाइ मात्रै "नेपाली"को हैसियत दिएर नेपाल भित्रै जन्मेका, हुर्केका जिवन्त सम्पूर्ण भाषाहरुलाइ "अनेपाली" बनाउने अत्याचारलाइ जहाँ जुन ठाउँबाट चुनौति दिन मिल्छ चुनौति दिनुहोस । यदि हामीले हाम्रो साश्वत अधिकारमाथि दावि नगर्ने हो भने हामी कसरी हाम्रो अधिकारलाइ हासिल गर्न सक्छौ? त्यसैले जब हामी हाम्रो भाषामाथिको अत्याचार पन्छाउन संघर्ष थाल्छौ, तब देखि हामीले हामी गर्वशाली नेवार हौ भनी गरेको घोषणा सार्थक बनाउन शुरु गर्छौ । लौ त मित्रहरु आज देखि हाम्रो भाषा अभियान शुरुवात गरौ र त्यो क्रममा भोगेका तीता मिठा घटनाका अनुभवहरु पनि बाँड्न थालौ । अस्तु ।

No comments:

Post a Comment