Wednesday, September 12, 2012

संघीय यात्राः एक रिपोर्ट– १

Kumar Lingden Limbu 'Mirak'
– कुमार लिङ्देन ‘मिराक’
नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले यही ०६९ भाद्र १ गतेदेखि पूर्व लिम्बुवानबाट सुरु गरी पश्चिम थरुहटसम्म वर्तमान राजनैतिक समस्या समाधानबारे छलफल, बहस कार्यक्रम आयोजना ग¥यो । यो मोर्चा संविधान सभा विघटनभन्दा पहिले नै निर्माण भएको हो । तर त्यसबेला यस मोर्चाको नाम ‘राष्ट्रिय जनआन्दोलन समिति’ थियो । पछि सबैको सल्लाहले यसको नामाकरण ‘‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’’ राखिएको हो ।
यस मोर्चाको स्थापना कालदेखि नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद(स.लि.रा.प.) एक सक्रिय सदस्यको रुपमा रहँदै आएको छ । खासगरी, संविधान सभामा राज्य पुनर्संरचना आयोगलाई विस्थापन गरी विज्ञ समूह बनाउने षडयन्त्रमा एमाले, काँग्रेस र माओवादिको प्रचण्ड समूह लागेपछि  हामीहरू निकै आत्तिएका थियौं । किनकि, विभिन्न कारणले संविधान सभामा हाम्रो उपस्थिति न्यून थियो । संविधान सभामा विज्ञ समूहलाई रोक्ने हामीसँग बहुमत थिएन । अन्तरिम संविधानमा ‘‘आयोगको सुझाव अनुसार राज्य पुनर्संरचना गर्ने’’ भन्ने लेखिए थियो । तर त्यसलाई संशोधन गरेर एकात्मकवादीहरूले ‘‘राज्य पुनर्संरचना विज्ञ समूहको प्रस्ताव अनुसार गरिनेछ’’ भनेर अन्तरिम संविधानमा संशोधन गरी लेख्न आँटेका थिए । यो षडयन्त्रलाई तत्कालीन एमाओवादीभित्रका वैद्य–बादल पक्षका सभासदहरूले मुख्य अवरोध पु¥याएर रोकेका थिए । त्यसबेला उक्त पार्टीको सचेतक देव गुरुङ थिए । उनले ह्वीप जारी गर्न मानेनन् । यी सबै घट्नाहरूलाई हामीहरूले नजिकबाट हेरिरहेका थियौं । त्यसैले पनि एमाओवादीभित्रको वैद्य–बादल पक्षसँग मोर्चावन्दी गर्ने परिस्थिति र वातावरण बनेर आयो । सुरुमा यो मोर्चा बन्दा कट्टर कम्युनिष्टहरूसँग संघीय सह–अस्तित्ववादी लिम्बुवानहरूबीच कसरी र किन मोर्चा बनेको होला भनेर थुप्रै जिज्ञासा आरोपहरू आए । तर पनि हाम्रो मुख्य ध्येय ऐतिहासिक पृष्ठभूमिआधार सहितको  लिम्बुवान, खम्बुवान...स्वायत राज्यहरूको स्थापना गर्ने भऐकोले हामी अविचलित अघि बढ्यौं । संविधान सभा विघठनअघि यस मोर्चामार्फत् मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मुख्य आयोजक भएर दमकमा विशाल आमसभा आयोजना गरेका थियौं ।
तर संविधान सभाको विघटनपछि कसरी अघि बढ्ने भनेर यस मोर्चाको घटक सदस्यहरूको आ–आफ्नै दृष्टिकोणहरू सामने आएपछि केही समयको लागि मोर्चा निष्क्रिय जस्तै रहयो । तर पछि सबैमा एउटा सहमति बन्यो– ‘‘संविधान सभाको नयाँ चुनावमा जाने भए पनि,संविधान सभा पुनस्र्थापना गर्ने भए पनि, गोलमेचमार्फत नयाँ संविधान लेख्ने र त्यसलाई निर्वाचित अङ्गले अनुमोदन गर्ने भए पनि राजनीतिक दलहरूबीच आम छलफल, बहस, सहमति त चाहिन्छ । त्यसैले गोलमेच (छलफल) को लागि पनि छलफल जरुरत हुन्छ । यस मार्चाले देशैभरि छलफलहरू चलाउँदै जाने ।’’
यही सहमति अनुसार भाद्र १ गते लिम्बुवानको विर्तामोडबाट मोर्चाको अन्तक्रिया सुरु हुनेभयो । यस कार्यक्रमको व्यवस्थापन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जिम्मामा थियो । हाम्रो परिषदको विशेषतः झापा जिल्ला समितिले विर्तामोडको कार्यक्रमको सारै राम्रो व्यवस्थापन गरेको थियो । यस कार्यक्रममा नेकपा–माओवादीको तर्फबाट उक्त पार्टीका सचिव देव गुरुङ, नेकपा एकीकृतका तर्फबाट नगेन्द्र राई, क्रान्तिकारी कम्युनिष्ट पार्टी (मणि थापा) कोतर्फबाट आङगामी, नेपाल नागरिक पार्टीका महासचिव विजय दनुवार र लिम्बुवानको हाम्रो तर्फबाट मैले बोलेका थियौं । देव गुरुङजीले संविधान सभा विघटनको अन्तिम क्षणहरूको अवस्थाबारे सविस्तार सुनाउँदा धेरैको मनमा आक्रोस उठ्यो । वास्तवमा, संविधान सभाका सदस्यहरूले सुरुका दुई वर्ष रातदिन खटेर कार्य गरेका थिए । तर जब थप दुई वर्षमा विवादित विषयहरू मिलाउने भनेर संविधान सभा नियमावलीमा नभएको ‘‘विवाद मिलाउने समिति’’ गठन गरे र त्यसको अध्यक्षमा प्रचण्ड चुनिए । तब सम्पूर्ण बर्बादी सुरु भयो । किनकि, छलफल बहस र भोटिङमा लानुपर्ने विषयहरू यो कथित विवाद मिलाउने समितिले रोकेर राख्यो । अनि ‘‘मिलाउँछौं मिलाउँछौं’’ भन्दै दुईवर्ष विताए र संविधान सभाको विघटनको वातावरण तयार गरे । उक्त कथित समितिले विषयहरू नरोकेर संविधान सभाको हलमा भोटिङको लागि पठाएको भए वारपारको स्थिति बनिसक्थ्यो । जेष्ठ १४ गतेको अन्तिम क्षणमा सबै सभासदहरूले सुवास नेम्बाङलाई पदच्युत गरेर अर्को सभाध्यक्ष छानेर भए पनि नयाँ संविधान जारी गर्ने कि भन्नेसम्मको कुरा सभासदहरूबीच चलेको रहेछ । तर त्यसो गर्दा बावुराम–विजय सरकारले तुरुन्त सशस्त्र हस्तक्षेप गरेर संविधान सभा हल रगतको आहाल हुने निचोड पनि निस्किए छ । यी सबै घटनाहरूको अगावै थाहा पाएर माओवादीको जनमुक्ति सेनालाई जबर्जस्ती समायोजन गरेको खुलासा पनि देव गुरुङजीबाट भयो । जेहोस् उहाँबाट यति कुराहरू थाहा पाएपछि सहभागी लिम्बुवानी कार्यकर्ता लगायतलाई भोलिको रणनीति बनाउन सजिलो भयो । यस कार्यक्रममा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको झापा, इलाम, पान्थर र पाप्लिजोङसम्मका नेता कार्यकर्ताहरूको राम्रो उपस्थिति थियो । तर, यो कार्यक्रमलाई अलिक गोलमेच ढाँचा वा अन्तक्र्रियात्मक रुप दिन चाहिँ सकिएन । परम्परागत ढाचाको सानो आमसभाजस्तै भयो । यो कार्यक्रमलाई गोलमेच ढाँचा दिन सकिएको भए राम्रो हुने थियो भन्ने महासुस भयो ।
यसरी नै मोर्चाले भाद्र ३ गते विराटनगरको उपमहानगरपालिका हलमा अन्तरक्रियात्मक कार्यक्रम राख्यो । उहाँहरूले  राम्रै व्यवस्थापन गर्नुभएको थियो  । यस कार्यक्रममा मञ्चसम्बद्ध सलिरापका मोरङ र सुनसरीका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो । एमालेको गुरु बराल, कांग्रेसका एक जिल्ला नेता नेकपा–मओवादीका देव गुरुङ, पत्रकार महासंघ मोरङका भूपू अध्यक्ष शिव कार्की,बुद्धिजीवी दिनेश श्रेष्ठ लगायत थुप्रै वक्ताहरूले बोल्नु भयो । एमाले नेता र मेरो त जुवारी नै चल्यो । मैले भनेँ– ‘‘परिवर्तनलाई आत्मसात गर्न नसक्ने नेपालका समुदायहरू र भूमिलाई पहिचान दिन नचाहने एमाले र कांग्रेसजस्ता पार्टीहरूको अब के उपादेयता बाँकी छ ? कि त यी पार्टीहरूले ०६२/०६३ को लिम्बुवान र मधेश आन्दोलनमा मारिएका शहीदहरूलाई ज्यँदो बनाउनु प¥यो कि त यिनीहरूले लिम्बुवान खम्बुवान स्वीकार्नु प¥यो । होइन भने त्यतिकै अतार्किक रुपमा लिम्बुवानको विरोध मात्रै गरेर हुन्छ ? लिम्बुवान दिन चाहँदैनौ भने ती शहीदहरूलाई ज्यँुदो बनाऊ न त । के यी पार्टीहरूले सधैँ हामीमुहाली चल्छ ? जबसम्म एमाले कांगे्रसजस्ता पार्टीहरू देशमा भइरहन्छ तबसम्म नेपालमा खडेरी, भोकमरी लागिरहन्छ । त्यसैले, मेरो सुझाव– ‘‘ठूलो वनभोज पार्टी आयोजना गर्नोस्, नाच्नुस् गाउँनुस्, खानुस्, पिउँनुस् शोक धुनहरू बजाउनुस् र अन्तमा एमाले कांग्रेस पार्टीहरू विधिवत रुपमा विघटन भएको घोषणा गर्नुहोस् ।’’मेरो कुरालाई एमाले नेताले निकै प्रतिवाद गरे– ‘‘एमाले भनेको जातीय समस्या र वर्गीय समस्यालाई सबैभन्दा वैज्ञानिक रुपमा उठाउने पार्टी हो ।’’ तर उनको कुरालाई सहभागीहरूले पत्याएनन् । हुन पनि कसरी पत्याउने ? एमाले, कांग्रेसले संविधान सभा सिध्याउन जुन नाङ्गो नाच देखाए त्यो दुनियाँलाई थाहा छ ।
विविध कारणले गर्दा भाद्र ५ गते हेटौडा र भाद्र ६ गते भरतपुर, चितवनमा मोर्चाले तोकेको कार्यक्रम स्थगित भयो ।
भाद्र ७ गते पोखरामा हुने मोर्चाको अन्तरक्रियामा भाग लिन भाद्र ६ गते दिवा बसबाट मैले दमक–पोखरा यात्रा शुरु गरेँ । बाटोमा विभिन्न दृश्यावलोकन गर्दै र मनमा विभिन्न कुराहरू खेलाउँदै बेलुकी पोखरा पुगियो । भोलि भाद्र ७ गते बिहानै लखन थापा मगर चोकमा पुगेँ र एकापट्टि तमुवान स्वायत्त गणराज्य लेखिएको साइनबोर्ड र अर्कोतिर अखण्ड पश्चिमाञ्चल लेखिएको बोर्डको फोटोहरू खिचेँ र फेसबुकमा सेयर गरेँ । जेष्ठ १४ गते अघि पोखरामा निकै तनाब भएको थियो । तमुवान संघर्ष समितिले लाखौंको सहभागितामा तमुवान सम्मेलन आयोजना गरेको थियो । त्यसको लगतै ब्राह्मण क्षेत्री समाजले तमुवानको विरुद्धमा निकै ठूलो जुलुश प्रदर्शन ग¥यो र तमुवानको बोर्ड उखेल्ने प्रयास गर्यो । त्यसपछि, तमुवान संघर्ष समितिले तमुवान भोलेण्टियर्स गठन ग¥यो र डिफेन्स लियो । मलाई अहिले पनि लाग्छ– पोखरा नेपालकै सबैभन्दा बढी जातीय व्यालेन्सको दृष्टिकोणले संवेदननशील क्षेत्र बनेको छ । यसलाई सही ट्«याकमा ल्याउन सबैपक्ष जिम्मेवारपूर्वक लाग्नुपर्दछ ।
पोखराको उद्योग वाणिज्य संघको हलमा सुरुभएको अन्तरक्रिया साँच्चिकै गोलमेच स्टाइलको भयो । मैले त्यहाँ थाहा पाएँ– कुनै पनि कार्यक्रमहरूमा सहभागिहरूको बसाइको स्टाइलले पनि कार्यक्रमको रिजल्टमा ठूलो असर पु¥याउँदो रहेछ । त्यहाँको कुर्सी टेबलहरूको रखाई नै गोलमेच ढाँचाको थियो र बहस पनि त्यस्तै भयो । उक्त कार्यक्रममा नेकपा–माओवादीका सुरेश आले मगर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मणि थापा, एकीकृत नेकपा मओवदीका तमुवान इञ्चार्ज डिलाराम आचार्य, नेकपा एमाले पीबीएम खगराज अधिकारी, कांग्रेसका जिल्ला अध्यक्ष र म लगायतले बोलेको थियौं । मणि थापा, जो जनयुद्धको कोर गु्रपमा थिए उनले प्रचण्ड र बाबुरामबारे दिएका जानकारीहरू गम्भीर छन् । रोल्पा रुकुममा जनयुद्ध सुरु भएपछि प्रचण्डले भनेको कुरालाई मणि थापाले दोहो¥याए– ‘‘यी मगरहरू आफू आफूमा सात दिन सात रात लड्थे । यिनीहरूलाई मैले बन्दुक भिराइदिएको छु, अब यिनीहरू लड्छन्, यिनीहरूको काम नै लड्ने हो ।’’ एकदमै होच्याएर उनेले बोलेका थिएछन् । मणि थपा र खगराज अधिकारीले बोलेको कुराहरूको रेकर्ड छ । पोखराको त्यो बहस अत्यन्त सुन्न लायक छ । रेकर्ड भएकोले इच्छुक साथीहरूले एकपटक सुन्नु होला ।
एमालेका खगराज अधिकारीले भने– ‘‘कोही यो कोठामा उफ्रिएर छतमा टाउँको ठोकाएर छत छेडे पनि नेपालका एकल पहिचान सहितको संघीयता हुँदैन, आउँदैन । एमालेको ७५ वटै जिल्लामा नेटवर्क छ, हामीलाई कम नठान्नुस् र ग्रेटर लिम्बुवानको दस्तावेज मेरो हातम हाइपुगेको छ ।’’
पोखरामा मैले सरल र नरम भाषाबाट हिर्काउने प्रयास गरेँ । मैल भनेँ– ‘‘तपाइँहरू सप्तरी र वीरगञ्जमा गएर संघीयताको विरोध गर्न नसक्ने अनि पोखरा, पाल्पामा संघीयता लिम्बुवान, तमुवान, मगरातको विरोध गर्ने ? तपाइँहरूको क्रियाकलापले तपाइँहरूलाई नै अप्ठ्यारोमा पार्नसक्छ । लिम्बुवान आन्दोलन भनेको संघीय राष्ट्रवादी आन्दोलन हो । हाम्रो त चर्चित नारा नै छ र भनिरहेका छौं– ‘‘नेपाल हाम्रो देश हो र लिम्बुवान हाम्रो घर हो’’ (Limbuwan is our homeland & Nepal is our country) । के हामीले आफ्नो घरलाई घर भन्न नपाउने ? दश हजार वर्षसम्म नेपालअन्तर्गत नै लिम्बुवान रहनेछ । नेपालबाट लिम्बुवान अलग हुने सोच हामी लिम्बुवानवासीले नै अस्वीकार गर्छौं । तपाइँ एमाले कांगे्रसहरू पनि लिम्बुवान, तमुवान, मगरात नामाकरणप्रति कृपया सहज भइदिनुस् । यो नामाकरण तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूको पार्टीहरूलाई ठूलो फाइदा हुन्छ । तपाइँहरु हुँदै हुँदैन भन्नु हुन्छ भने हामी‘‘लिम्बुवान–तमुवान’’ को लागि हजार वर्ष लड्ने प्रण गर्छौं । मुख्य कुरा त हाम्रो आँखा उघ्रिसकेको छ ।’’
एउटा रमाइलो के भयो भने मैले बोल्दै गर्दा उद्घोषकले समय सकियो मात्र के भनेका थिए तमुवानतिरका साथीहरू जुरुक्क उठेर‘‘वहाँलाई रोक्ने तपार्इं को हो ? उहाँले अब एक घण्टा बोल्नु हुन्छ, तपाईंहरू कसरी रोक्नुहुँदो रहेछ ।’’ अन्त्यमा, मैले हाँसेर सबैलाई सहज गरेँ । मैले सोचें– तमुवानका साथीहरूको मनमा जमेको पीडाहरू उर्लिएर बाहिर आएको होला ।
जेहोस् पोखराको अन्तक्र्रिया एकदमै सार्थक रह्यो । लिम्बुवान, तमुवान नामाकरण अफैमा त्यस्तो डराउनु पर्ने र अचम्म मान्नु पर्ने विषय होइन । यसमा सबै पार्टी र जातिहरू सहमत भइयो भने आउने दिनको नेपाल सहज र सहमतिपूर्ण तरिकाले अघि बढ्नेछ भन्ने कुरामा निक्कै धेरैलाई कन्भिन्स गर्न सकियो भन्ने लाग्छ । त्यहाँको हाम्रो प्रस्तुतीलाई ‘‘रुवाको तोपबाट फलामको गोली निस्किरहेको झैँ थियो भनेर साथीहरू कमेन्ट गरे । मैले पनि सरल र नम्र भाषामा नै बोलेको थिएँ । हुन पनि लिम्बुवान, तमुवान, मगरात भनेको कुनै जाति विरोधी अभियान त हुँदै होइन । यसलाई सबै जाति र सबै पार्टीको साझा अजेण्डा बनाउन सकियोस् भन्ने मिसनमा हामी छौं ।
पोखराको अन्तरक्रियाले मार्चाको उद्देश्यझैँ साँच्चिकै गोलमेचको रुप लियो । एउटा कुरामाचाहिँ मलाई खुशी लाग्यो– एमाले र एमाओवादीका पोलिटव्युरो तहका नेताहरू कार्यक्रम विसर्जन भइञ्जेल बसे । फेरि, बौल्नु पाउनु पर्छ भनेर समय मागे । तर समयको पावन्तीले त्यो सम्भव भएन । यसरी पोखराका सबै पार्टीका नेताहरू एक ठाउँमा भेला भएर ६÷६ घण्टासम्म अन्तक्र्रिया गरेको जानकारी थिएन भनेर धेरैले भने । मोर्चाले त्यो अवसर जुटाएकोमा सबैले धन्यवाद पनि दिए ।
भोलिपल्ट भाद्र ८ गते विहान मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कास्की, पोखरा सम्पर्क समितिले ‘‘लिम्बुवान–तमुवान’आन्दोलन अनुभव आदान–प्रदान कार्यक्रम’’ आयोजना ग¥यो । लिम्बुवान पोखराका अध्यक्ष अरुण लिम्बूको सभापतित्व र सल्लाहकार गजेन्द्र माबोको उद्घोषणमा सुरुभएको उक्त कार्यक्रममा तमुवान संघर्ष समिति र तमुवान भोलेण्टियर्सका कमाण्डरहरूको सहभागिता थियो । कार्यक्रममा लिम्बुवान आन्दोलनका तीता–मीठा अनुभवहरू सुनाइयो । मैले भनेँ– ‘‘आन्दोलन विकसित हुँदै जाँदा यसका आवश्यकताहरू पनि बढ्दै जाँदो रहेछ । सुरुमा लिम्बुवान मात्र भन्दा पनि हुन्थ्यो । त्यसपछि, यसको आफ्नै फिलोसफि, आफ्नै विश्व दृष्टिकोण, आफ्नै अर्थशास्त्र, सौन्दर्यशास्त्रको आवश्यकता प¥यो । लिम्बुवानले छलफल र बहसको लागि आफ्नै संघीय सह–अस्तित्ववाद दर्शन अघि सारेको छ । तयसैले, पनि लिम्बुवान आन्दोलन अलिक फरक र सशक्त पनि छ । विस्तारै तमुवान आन्दोलनले पनि ती सबै कुराहरू माग गर्छ । अरुको दर्शनमा उभिएर वास्तविक आन्दोलन उठाउन नसकिँदो रहेछ ।’’
उक्त कार्यक्रममा तमुवान भोलेण्टियर्सका उपाध्यक्ष बहिनी हिरा गुरुङ तमूले सोधेको प्रश्न मार्मिक थियो– ‘‘हामी युवाहरू आफ्नो सबै पार्टी र आस्थाहरूलाई थाँती राखेर तमुवानको लागि वलिदान दिन तयार भएका छौं । तर हाम्रा अग्रज दाइहरू अझै पनि किन यो र त्यो पार्टी भनेर अलमलिन्छन्/अल्मलाउँछन् ?’’ मैले उनको सवालमा थपेँ– ‘‘बहिनी यो तपाईंको मात्र जिज्ञासा होइन । अलिक पढेका, बुझेका भनिएका हाम्रा समुदायका अघिल्लो पुस्तालाई अहिलेको पुस्ताको प्रश्न हो– यो ।’’ अन्तमा, लिम्बुवान र तमुवान आन्दोलनबीच सहकार्य गरेर अघि बढ्ने सल्लाह भयो । उक्त कार्यक्रम सकेर म पाल्पा जाने बस चढ्न बसपार्कतिर लम्किएँ ।
क्रमशः...

No comments:

Post a Comment