Thursday, September 27, 2012

चारजात छत्तिस वर्ण र अन्तर्वस्तु


–छविसुब्बा सङबाङफे लिम्बू

नेपाली राजनीतिक बजारमा राष्ट्रिय एकताका प्रतीक मानिएका गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो अभियान पुरा गरेपछि नेपाललाई असली हिन्दुस्तान बनाउने आफ्नो मकसद उजागरगर्दै बोलेको महानबाँणी “मेरा साना दुःखले आज्र्याको मुलुक होईन, चारजात छत्तिस वर्णको फुलबारी हो, सबैलाई चेतना भया” । राजतन्त्रीय पञ्चायती व्यबस्थाका शासकहरु पञ्चदेखि महापञ्चसम्मले यो वाक्यलाई गायत्रीमन्त्रकैरुपमा अलाप्न र फलाक्न थाकेनन् । ंपञ्चायती व्यबस्थालाई बि.स. २०४६ सालको जनआन्दोलनले परमधाम पु¥याएपछि यसको अपुताली खाँदैआएका नेपाली कांग्रेसका अधिकतम, नेकपा एमालेका न्यूनतम, आदिवासी जनजाति, मधेसी मुलबाट बनेका पार्टीका छिटफुट नेता तथा कार्यकर्ताहरुले पिएन शाहको यो महानबाँणीलाई आफ्नो भाषणको मसला बनाउने गर्दछन् । अझ बाहुन जातिहरुले नेतृत्व गरेको पार्टीमा बसेर ईमान्दार राजनीतिक चरित्र देखाउने आदिवासी लठ्ठकहरुले त झन यही महान बाँणीलेमात्र यो देशमा आफ्नो जातिको पहिचान र सहअस्तित्व समावेश हुनसक्ने दावी गर्दछन् र छाती पिटी पिटी बडामहाराजको गुणगान र भजनगान गाउदछन् । वास्तवमा चारजात छत्तिस वर्णकाबारे हिन्दु विधिशास्त्रका पण्डितहरुले कस्तो व्याख्या गरेका छन् भन्ने विषयमा धेरै राजनीतिक प्राणीहरु अन्यौलमै रहेको देखिन्छ । त्यसकारण यो लेखमार्फत चारजात छत्तिस वर्णको सारपक्ष खुलासा गर्ने जमर्को गरिएको छ ।

पण्डित ढुण्डिराज भण्डारी भन्छन् ः “चारजात भन्नाले हिन्दु विधिशास्त्रीय व्याख्या अनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन् । छत्तिस वर्ण भन्नाले यही वर्गिकृत समुदायभित्रका चार विद्वान ब्राह्मण, आठ बलवान क्षेत्री, एक्काईस धनाढ्य वैश्य र तीन नम्र शुद्र हुन् ।” जतिबेला पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माण अभियान सम्पन्न गरे त्यसपछि राज्यसत्ताको शासन संचालन गर्ने विधि निर्माण गर्न संयन्त्रगत प्रक्रियाको व्यबस्थापन यो मान्यता र दर्शनबाट गरेका हुन् भन्ने उनको त्यो घोषणाबाट स्पष्ट हुन्छ । जसअनुसार चार ब्रह्मणहरुको उच्चस्तारीय संयन्त्रले नीति निर्माण गर्ने, आठ बलवान क्षेत्रीहरुले राज्य संचालन र सुरक्षा प्रदान गर्ने, एक्काईस धनाढ्य वैश्यहरुले अर्थतन्त्र बलियो बनाएर राजा र ब्रह्मणहरुलाई भरण पोषण गर्ने, तीन नम्र शुद्रहरुले यी सबैको सेवा गर्ने । यीनै जिम्मेवारीहरु सम्पन्न गरी गोर्खा साम्राज्य संचालन गर्न तत्काल पिएन शाहले निर्माण गरेको दर्शनको भाका नै चारजात छत्तिस वर्णको फुलबारी हो । यो फुलबारीभित्र राज्य अतिक्रमणको शिकार भएका अन्य स–साना राज्य र त्यहाँ बसोबास गर्ने विभिन्न जाति समुदायहरुको अस्तित्व, पहिचान, सार्वभौमिकता, गौरव र आत्मसम्मान गुन्जायस र प्रतिविम्वित छैन । अब सबै नेपालीहरुलाई राष्ट्रिय मुलप्रवाहमा समेट्नका लागि पछिल्ला शाह वंशीय कार्यकालका पण्डितहरुले यो मुलमन्त्रलाई वृहत व्याख्या गर्ने अभ्यास गरेपछि उनीहरुको निचोडमा आएको कुरा के हो भने चारजातभित्र नपरेका गैरहिन्दुहरुलाई त्यसभित्र समायोजन गर्दा पानी चल्ने शुद्रमा दर्ज गर्ने हो । त्यही मान्यता मुताविक राजा महेन्द्र शाहको राज्य अभिषेकमा प्रहरी महानिरीक्षक दिलमानसिंह थापा मगर र राजा बीरेन्द्रको राज्य अभिषेकमा मन्त्री पद्मसुन्दर लावती लिम्बूलाई शुद्र बनाई राजाको अभिषेक गराईएको थियो । यो विधिशास्त्रबाट चल्ने मुलुक वास्तवमा असली हिन्दुस्तान नभएर के हुन्छ ? हो यही परिकल्पनाबाट तय गरिएको तत्कालीन राजनीतिक दर्शन नै चारजात छत्तिस वर्णको फुलबारी हो । त्यतिबेला कार्लमाक्र्स, भ्ला.ई. लेनीन, माओत्सेतुङ्ग यीमध्ये कोही पनि जन्मेका थिएनन् । माकियावेली, आरस्तु, एडमस्मिथ आदिको दर्शन पनि एसीयामा प्रवेश गरेको थिएन । हिन्दुहरुले आफुसँगै भारतबाट ल्याएको महाभारत, रामायण, गीता आदि नै दर्शनका श्रोतहरु थिए ।

शाहहरुको शासनकाललाई जतिसुकै वैज्ञानिकीकरण र आधुनिकीकरण गर्ने प्रयत्न भएता पनि पृथ्वीनारायण शाहको यो मान्यताभन्दा बाहिर आउन सकेन । नेपालको सन्दर्भमा हिन्दु अतिवादको राजनीतिक दर्शन यीनै आधारहरुबाट निर्माण र बिकास भएको हो र चारजात छत्तिस वर्णभित्र रहेका जातजातिहरुको सत्ता साझेदारीताको हैसियत यही मुल्यमान्यता अनुसार कायम गरिएको थियो । अहिलेको अवस्थामा विभिन्न दर्शन र विचारबाट राजनीतिक पार्टी निर्माण गरी संचालन गर्ने बाहुनवादीहरुले सामन्तवादका यी पृष्ठभूमि र चरित्रहरुलाई पूर्णरुपमा समाप्त गर्न नचाहेको अवस्था हो । उनीहरु जस्तोसुकै प्रणाली अन्तर्गतको राजनीतिक व्यबस्था र सत्ता निर्माण भए पनि त्यसको पहुँच र वर्चश्वमा स्वतःस्फुर्त आफ्नो निरन्तरता कायम रहिरहने विधि निर्माण र बिकास कसरी गर्ने ? भन्ने चीन्ताले ग्रस्त भएको देखिन्छन् । बाहुनवादीहरु गणतन्त्र र लोकतन्त्रको ठूलो हिमायती र पहरेदार आफुलाई स्वघोषणा गरेता पनि उनीहरुमा अन्तर्निहीत यो स्वार्थले गहिरो प्रभाव पार्दछ । त्यसकारण अधिकार बाँडफाँड र राज्य शक्तिमा साझेदारिता सबै जातजाति, वर्ग, लिङ्ग र समुदायलाई समानरुपमा प्रत्याभूति हुने संविधान निर्माण गर्ने सवालमा सहमति हुन नसक्नु बरु त्यस्तो संविधान बन्नुभन्दा संविधान बनाउने निकाय नै समाप्त गर्नमा उनीहरुले सबभन्दा उचित सम्झन पुगेकोले संविधान सभा विघटनको बाटो रोजे जसको परिणामतः लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकार संस्थागत हुन सकेन ।

अबको परिस्थितिमा फेरी संविधान सभा गठन भए वा कुनै निकायबाट संविधान निर्माण सम्बन्धमा बहस चलेमा यीनै विगतका सवालहरु पुनः दोहोरिने छन् । अधिकारबाट वञ्चित रहेका समुदायहरुलाई उनीहरुको अधिकार बहाली गर्दा लगातार अधिकार उपभोग गरिरहेका शासक जातिहरुको मौजुद अधिकार स्वतः कटौती हुनजान्छ र त्यसले आफुलाई नयाँ संकटमा पार्नेछ भन्ने बुझाईबाट मर्माहत भएका सत्ताधारी समुहहरु यो द्विविधायुक्त भयभित मनोविज्ञानबाट मुक्त हुन नसकेसम्म नेपालमा नयाँ संविधान बन्ने छैन । जतिसुकै धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको कुरा उठाए पनि आफुलाई राजनीतिक सत्ताको वर्चश्वमा पहुँच र निरन्तरता प्रदान गर्न स्थापना भएको हिन्दु विधिशास्त्रको धरोहर र पक्षपाती किल्लालाई ढाल्न वर्तमान सत्ताधारी दलहरु चाहदैनन् । त्यसो भएको हुनाले आफ्नो अधिकार स्थापनाको लागि आन्दोलनरत विभिन्न राजनैतिक शक्ति र समुदायहरुले कस्तो रणनीतिक र कार्यनीतिक योजना र कार्यक्रमबाट आफ्नो अधिकार सुनिश्चित गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर चलायमान हुनु पर्दछ । आन्दोलनको दृष्टिकोणबाट तत्काललाई दुईवटा बाटाहरु अगाडि तेर्सिएका छन् ः (१) आफ्नो अधिकार बहालीको विपक्षमा उभिने शक्तिहरुलाई परास्त गर्ने या (२) ती सबै प्रतिक्रिवादी र प्रतिगमनकारी तत्वहरुलाई समाप्त गर्ने । पहिलो कार्य सम्पन्न गर्नका लागि अवलम्वन गर्ने राजनीतिक बाटो वा कार्यक्रम राष्ट्रिय मुक्ति आन्दोलन हो, र दोश्रो सर्त सम्पन्न गर्नका लागि अवलम्वन गर्ने मार्गचित्र गृहयुद्धको हो । अब तपाईं र तपाईंको पार्टीले निर्दिष्ट गरेको बाटो कुन हो ? त्यसलाई पहिचान गरेर लक्ष्य निर्धारित गर्नुपर्ने समय आईसकेको छ । उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायहरु कदम अगाडि बढाउनु होस । यो मुक्ति यात्रामा मेरो सदा समर्पण, बलिदान र शुभकामना ! विजय भवः ।
जय लिम्बुवान ! (श्रोतः खस आन्दोलन राष्ट्रिय मुक्ति की अहंकारवाद–जनक चेमजोङ्ग)
(लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका महासचिव हुन्)

No comments:

Post a Comment