Monday, February 11, 2013

"किरात येले संवतको पहिलो पात्रो सार्वजनिक"

"दिपेन योङहाङ " 
"बिक्रम सुब्बा "

२०६९ माघ २९

काठमाडौं । किरात येले संवत् ३७९२ (कलिगत आधारित ५०७३) को प्रस्तावित
पहिलो पञ्चाङ्ग पात्रो राजधानीमा सोमबार आयोजित एक समारोहमा विमोचन
गरिएको छ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले सार्वजनिक
गरेका हुन् ।

यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)ले उक्त किरात पञ्चाङ्ग
प्रकाशनमा ल्याएको हो । विमोचन मन्तव्य दिंदै नेता राईले किरात येले
संवत्लाई राज्यले मान्यता दिनु पर्ने विचार व्यक्त गरे ।
‘पञ्चाङ्ग संवत् पहिचानको विषय हो, यो मानव जातिको इतिहाससित सम्बन्धित
छ,’ पहिचानसहितको संघीयताको पक्षमा नया“ पार्टीको नेतृत्व गरेका राईले
भने, ‘राज्यले पहिले पनि ध्यान दिएन, अझै पनि ध्यान दिने अवस्था छैन । तर
समाजले प्रचलनमा राखेको यो संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन जरुरी
छ ।’

किरात याक्खा, राई, लिम्बू, सुनुवार, धिमाल, थामी, सुरेल, जिरेल, हायू,
मेचेलगायत समुदायमा यो संवत् प्रयोग र प्रचलनमा छ । समाजमा येले संवत्
५०७३ प्रयोग रहेको छ भने इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीको अनुसन्धान
टोलीले ३७९२ आधिकारिक हुने निष्कर्ष दिएको छ । त्यसैका आधारमा पञ्चाङ्ग
प्रकाशनमा ल्याइएको फाउन्डेसनका अध्यक्ष विक्रम सुब्बाले जनाएका छन् ।
राजधानीस्थित नेपाल पर्यटन बोर्डमा आयोजित समारोहलाई सम्बोधन गर्दै
इतिहासविद् रेग्मीले किरात समाजमा संवत् दुई किसिमको नभई ऐतिहासिक तथ्यका
आधारमा प्रमाणित एउटै संवत् प्रचलनमा ल्याउन मतैक्य हुनुपर्नेमा जोडदिए ।
‘पहिचानलाई लिएर प्रचलनमा ल्याइएको यलम (यलम्बर) संवत् इतिहासलाई मान्ने
हो भने ३७९२ नै आधिकारिक छ,’ दुई नाउमा खुट्टा राख्दा यात्रा अन्योलमा
हुने उल्लेख गर्दै उनले भने, ‘यी दुईलाई एउटामात्र मान्न जरुरी छ ।
इतिहास कि दन्त्यकथा मान्ने तपाईहरु (किराती) स्पष्ट हुनोस् । राज्यले
पनि यसलाई बेवास्ता गर्न मिल्दैन ।’ इतिहासविद्हरु रेग्मी, दुर्गाहाङ
याक्खाराई र मञ्जुल याक्थुम्बाले यो संवत्लाई प्रथम किरात राजा यलम्बरको
नाममा ‘स्मारक संवत्’का रुपमा प्रचलनमा ल्याउन उपयुक्त हुने निष्कर्ष
दिएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइ“लाले नेपाली समाजमा
इतिहासलाई क्रमबद्धता दिने चलन नभएकाले किरात येले संवत् दुई किसिमको
रहेको बताए । ‘२०३० सालमा पहिलो पटक किरात संवत् प्रचलनमा आएको हो, यसलाई
लिम्बू समाजले प्रवद्र्धन गर्दै अन्य किरातीले पनि अंगिकार गरेका हुन्,’
संवत्बारे आधिकारिक अध्ययन अनुसन्धानको अगुवाई गरेका काइ“लाले भने, ‘२०६४
सालदेखि अनुसन्धानको क्रम सुरु भयो र धेरै ऐतिहासिक तथ्यको खोजी भएको छ ।
अन्धाधुन्ध प्रयोग गरिएको संवत् अब ऐतिहासिक प्रमाणले पुष्टि गरेको ३७९२
नै हो । यो विमोचित चन्द्र–सौर्य पञ्चाङ्गको आधारमा निर्मित पात्रो
किरातको मौलिकतामा आधारित हुनुपर्छ ।’

त्यसैगरी नेपाल पञ्चाङ्गपत्र निर्माण समितिका संयोजक दैवज्ञ कीर्तिमदन
जोशीले पहिलो पटक किरात येले संवत् पञ्चाङ्ग बनाएको बताए । ‘किरात येले
संवत् नया“ हो,’ उनले भने, यो पञ्चाङ्ग राष्ट्रको नया“ निधि हो । यसलाई
निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।’

त्यस अवसरमा किरात येले संवत् काल निर्धारण, प्रथम किरात राजा यलम्बरका
साथै किरात इतिहासको खोज अनुसन्धानमा योगदान दिने इतिहासविद्हरू डा.
जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खाराई
(मरणोपरान्त) लाई सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी नेपाल राष्ट्रिय जातीय संग्रहालयकी अध्यक्ष बमकुमारी बुढामगर,
फाउन्डेसनका महासचिव शंकर साम्पाङ, सचिव शान्ति देवान, सदस्य अतीत
मुखियालगायतले विचार व्यक्त गरेका थिए ।

No comments:

Post a Comment