Deepen yonghang
नेपालको इतिहासमा लिम्वूवान अस्तित्वमा रहेको पाइन्छ । यो राज्य दश लिम्वूवान सत्र थुमको आधारमा सन्चालित थियो । दश लिम्वूवान भनेको अहिले परीकल्पना गर्न खोजिएको संघात्मक प्रणाली जस्तै संघीय प्रणाली हो । दशमा सात उपसंघ थपेर सत्रथुम वनाइएको हो । यसको प्रमुख केन्द्र सुरुमा पानथर हालको फिदीममा रहेको थियो ।लिम्वूवान छैटौ देखि दशौं शताब्दि सम्म उवाहाङ, मावोहाङ, सिरीजंगहाङहरुले एकछत्र शासन गरेको पाइन्छ । त्यस्तै पन्ध्रौ शताब्दि देखि मोरङ राज्य शक्तिशाली राज्यहरुले पुन सम्पूर्ण लिम्वूवानलाई थुमीय आधारमा शासन गरेको देखिन्छ । त्यस वेलाका राजा साङलाईन थिए । उनले हिन्दु मत ग्रहण गरेको हुनाले विजय नारायण राई भए । राई भनेको तात्कालीन समयको राजाहरुले प्रयोग गर्ने समानार्थी शब्द थियो । त्यस्तै पुन: सेनवंशी हुदै वि .सं. १८२५ मा बुद्धिकर्ण खेवाहाङ विजयपुरका लिम्वू राजा थिए । तत्पश्चात संघीय लिम्वूवान राज्यहरुको केन्द्र विजयपुर बन्यो ।
वि.सं.१८३० तिर लिम्वूवानमा सत्र पटक गोर्खाका सेनाहरुले आक्रमण गरेका थिए तर लिम्वूवानका सेनाहरुले विफल तुल्याइ दिए । गोर्खाका सेनापति रघु रानालाई लिम्वूवानका वीर योद्धा काङसोरे खेवाहाङले काटेर मारेका थिए । त्यस वेला सेनापति मात्र नभएर सम्पूर्ण सेनालाई समेत सोतर वनाएका थिए लिम्वूवानका सेनाहरुले । यस्तो अवस्था देखेर गोर्खाका राजाले लिम्वूवानलाई आफ्नो वनाउन भाईको रुपमा सम्झौता गरी स्वायत राज्य सन्चालन गर्न पाउने व्यवस्था गरीएको थियो । त्यसपछि पनि लिम्वूहरुले लिम्वूवानमा आफ्नो शासन कायमै राखे । वि.सं. १८३१ भन्दा अगाडी छुट्टै राज्य थियो तर वि.स. १८३१ वाट गोर्खा राज्यको सह राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं. २०२१ साल सम्म रह्यो । वि.स. २०२१ मा राजा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वूवान किपटको कुरा गरे । उक्त कुराको घोर विरोध गर्दा लिम्वूवानका नेताहरु जेलनेल परे । तर लिम्वूवानको आवाज निरन्तर रहि रह्यो ।
त्यसवेला किपट खारेजीको हवला दिए पनि वि.सं.१९३१ को लालमोहर खारेजी भएको थिएन । उक्त लालमोहर अझै पनि खारेजी भएको पाइएको छैन । त्यसैले लिम्वूवान कानुन वमोजिम अझै पनि अस्तित्वमा रहेको देखिन्छ । वि.सं. २०६२ / ६३ को जनआन्दोलन भाग २ ले नेपालमा जातिय स्वायत राज्य पुर्नस्थापना गर्न वाटो खोलेको छ । तर्सथ लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि झण्डै दुई दर्जन लिम्बुवान राजनैतिक पार्टीहरु सक्रिय रुपमा लागि परेकाछन् । लिम्वूवान स्वायत राज्य पुर्नस्थापनाको लागि राज्यवाट एक पटक वार्तामा वोलाए पनि त्यो वार्ता सफल भएन ।
लिम्वूहरुले लिम्वूवान क्षेत्रमा रोड मार्चपास, आम हडताल साथै चक्का समेत गर्दै आएका छन् । उक्त हडतालको समयमा सरकारको क्रुर प्रहरीहरुले दुई जना लिम्बुवानी योद्धाका हत्या समेत गरी सकेका छन् भने दर्जनौ घाइते भएका छन् ।
————————————————————————————
लिम्बुवान सम्बन्धी संक्षिप्तमा केही कुराहरू :
वर्तमानमा दाबी गरिएको लिम्बुवान भूमिको नाम समयअनुसार यसप्रकार थियो:
१. याक्थुङ लाजे: जुन बेला आदि, अनादिकालबाट याक्थुङ जातिहरूको मात्र बसोबास थियो
२. लिम्बुवानः भेन्सिटार्ड र इमानसिंहका अनुसार छैटौं शताब्दीको विद्रोह सफलतापछि लिम्बुवान लेख्ने सहमति भयो । दोस्रो– राजा पृथ्वीनारायण शाहसँगको सम्झौतापत्र वि. सं. १८३१ को लालमोहरमा पनि उल्लेख भएको पाइन्छ ।
३. पल्लो किरात: राणा शासनको बेला ३६ जिल्लामा विभाजन गरिएको बखत, राणाहरूको उदय वि. सं. १९०३ पश्चात्
४. मेची, कोशी: अञ्चल विभाजन वि. सं. २०१७/१८ बाट
लिम्बुवान र लिम्बू
छैटौं शताब्दीका ८ याक्थुङ राजाहरूको विरुद्धमा १० सरदार याक्थुङहरूलगायतको नेतृत्वमा विद्रोह भयो । धनुषकाँडको प्रयोगबाटै उक्त विशाल विद्रोह सफल भयो र त्यसपछि एकै ठाँउमा भेला भएर विजय गरेको क्षेत्रलाई लिम्बुवान भन्ने निर्णय भयो । ‘लि’ को अर्थ धनुष, ‘अम्बु’को अर्थ हानेर जितेको, ‘वान’ को अर्थ क्षेत्र हुने भएकोले लिम्बुवान नामकरण गरियो र लिम्बुवान क्षेत्रमा बस्ने सबै जाति लिम्बू र लिम्बुवानवासी कहलाइए ।
सिमाना: अरुण (अरङवा)पूर्व र हाल दार्जिलिङ र सिक्किममा पर्ने टिस्टा (तिवा) पश्चिमको भाग, दक्षिणमा जोगवनीदेखि दक्षिण ६६ किलोमिटर दूरीमा रहेको पूर्णिया जिल्लामा पर्ने जलालगढ र उत्तरमा भोटसम्म थियो । लिम्बुवानको बीचमा रहेको तम्मोर नदीलाई त्यसबेला ताम्वा भनिन्थ्यो ।
स्वायत्त राज्य
गोरखा र लिम्बुवानबीच १७ पटकसम्मको युद्धमा पनि हारजित भएन । उक्त युद्धहरु मध्ये लिम्बुवानको तर्फबाट धेरै युद्धको नेतृत्व काङ्सोरे खेवाहाँङले गरेका थिए अन्ततः वि. सं. १८३१ मा लिम्बुवानका तर्फबाट कुम राय, सुन राय, जङ राय र गोरखाका राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक सन्धि (लालमोहर) गरेर लिम्बुवान पूर्ण स्वायत्त रहने गरी नेपालमा गाँभिएको थियो । उक्त सन्धि विजयपुर (धराननजिक) दरबारमा भएको थियो । वि. सं. १९४५ सम्म काठमाडौंमा लिम्बुवानको एक जना प्रतिनिधि रहने व्यवस्था पनि थियो जसले दूतको काम गर्दथ्यो । वि.सं.२०२५ मा किपट प्रथाको कानुनमा परिवर्तन गरी क्रमशः अन्त्य गरियो ।
पदवी र पहिचान
राय, राईको अर्थ राजा पदवी हो । यो पदवी लिम्बूलाई पनि दिइन्थ्यो । लिम्बूले राय लेख्नुभन्दा पहिला याक्थुङ्वा लेख्दथे । लालमोहरहरूमा राय, राई लिम्बूहरूलाई पनि प्रयोग गरेको पाइएकोले पदवी हो भन्ने देखिन्छ । लिम्बूहरूलाई सुब्बाको पनि पदवी दिइएको थियो र हाल पनि सुब्बा लेख्ने चलन छँदैछ । सुब्बा पदवी गुरुङ, थकालीलाई पनि दिएको पाइन्छ । राई (राजा) पदवी खम्बूहरूले धेरै प्रचलनमा ल्याएकाले अन्ततः थरको रूपमा विकास भएको तर्क पाइन्छ । उनीहरूले पहिला खम्बू लेख्दथे; आजकाल पनि लेख्दै आएका छन् । लिम्बूहरूले सुब्बा पदवी बढी प्रयोग गरेको भए थर नै सुब्बा हुने थियो र गुरुङ, थकाली सुब्बाहरू पनि सुब्बा जाति कहलाउन सक्दथ्यो, अधिकांश लिम्बूले अहिले पनि सुब्बा लेख्छन् । एकै क्षेत्रमा बसोबास गर्ने खम्बू, लिम्बू, याक्खा, देवान, सुनुवार, जिरेल, सुरेल, धिमाल, मेचेलगायतकाहरू गौरवशाशी किरात सन्तति हुन् ।
कुन संघीय प्रणाली ?
गोरखा राज्यको एकात्मककरण अभियानमा अन्यलाई पनि रुक्का, इस्तिहार, सनद, लालमोहर दिइएको पाइन्छ । यद्यपी, लिम्बुवानलाई दिइएको लालमोहर विशेष र महत्वपूर्ण मानिन्छ । नेपालका धेरै भूभाग युद्धमा जितेर नेपालमा गाँभिएको भए पनि तिनीहरू युद्धपूर्व छुट्टै राज्य थिए र लिम्बुवान, मुस्ताङलगायतको भूमिहरू सहमति र सम्झौताबाट नेपालसँग जोडिएकोले नेपालको संघीय प्रणाली युनियन ढाँचाको हुनु सान्दर्भिक देखिन्छ ।
- ‘निष्पक्ष संविधान: समृद्ध राष्ट्र’ पुस्तकबाट साभार, लेखक: विश्वासदीप तिगेला