दिपेन योङहाङ
यी डा साप नेपाली जनताका प्रधानमन्त्री हुन् कि सौदी अरबका राजकुमार हुन् भन्ने भ्रम स्रिजना गरिदिएको छ। उनको पद हेर्दा हामी नेपालीका प्रधानमन्त्री हुन् भन्ने लाग्ने । तर उनको पारा, नखरा र बोली सुन्दा कुनै अरबियन देशको राजकुमार झैं लाग्ने । हामी नेपालीका प्रधानमन्त्री हुँदा हुन् त उनलाई नेपालको बास्तबिक समस्या ज्ञान हुनु पर्ने हो । तर रहेनछ उनलाई । त्यसैले उनले अब गाउँको बास्तबिक समस्या बुझ्न गाउँमा गएर एक रात बिताउने निर्णय गरेछन् । नेपालकै ग्रामिण भेगको समस्या नबुझेका डा सापलाई कसरि नेपालीका प्रधानमन्त्री रहेछन् भन्नु ?
प्रधानमन्त्री भएपछि उनले मुस्ताङ म्याक्स चढेर जगतको स्याबासी लिए । हेल्लो सरकार भन्दै खुब सुने जनगुनासा । त्यो जनगुनासा सुन्दा आफ्न्तनिकटलाई जागिर दिए । आम जनताको भन्दा भोली चुनाबमा डा सापको पक्षमा छाती खोलेर पर्चा बोक्दै हिँड्नेको संख्या बढाए । छु मन्तर गरेर भ्रस्टाचार हटाउने, सुशासन, सुरक्षा, भ्यागुतो उफ्रे जस्तो आर्थिक ब्रिद्दी र जनतालाई एक थान गतिलो संविधान । के के हो के के दिए बाचा । तर तिनका बाचा एकपछि अर्को झ्याल्टुङ खाँदै गए । अर्थात उनी अनुभवहिन प्रधानमन्त्री देखिए नयाँ जोगी जस्तो । उनले अनावश्यक लोकप्रियता हाँसिल गर्न देखाउनुसम्म नौटंकी देखाए । गर्नुसम्म नखरा गरे । अहिले अर्को नखरा गरेका छन् । अब जनताका दुखसुख बुझ्न गाउँमा गएर बस्ने रे हरेक महिना एक दिन ।
त्यसको शुरुवात हिजो गरे प्रधानमन्त्री साप ले । हिजो बुधबार काठमाडौं ६ नम्बर निर्वाचन क्षेत्रको जोरमहांकाल गाविसमा पुगे गाउँका जनतासित प्रत्यक्ष उठबस गरेर पिर मर्का बुझ्न । निक्कै टाढा सुदुरको गाउँ छाने । जहाँका गाउँलेको स्थिति उहाँका सल्लाहकारले दिन सक्थेनन्। सरकारी निकायलाई महिनौं लाग्थ्यो। उनको पार्टीलाई जानकारि थिएन। दिनभरिको भलाकुसारीले नपुगेर उनले स्थानीय जनतासँग रातभर अन्तरक्रिया गर्न हिजो बुधबार रात त्यहिँ बिताए ।
देशलाई गतिलो संविधान चाहिएको छ अहिले । आम शोषित, पीडित गरिखाने, निमुखाका लागि, सबै नेपालीले यो मुलुक मेरोपनि हो भनेर साझा अनुभुति गर्न सक्ने संविधान । त्यसलाई ब्यवहारमा उतार्ने जिम्मेवार सरकार । कालो बजारी रोकोस् । भ्रस्टाचार पुरै रोक्न नसकेपनि भ्रस्टहरुलाई कारबाही गर्न बनेको निकायलाई स्वतन्त्र र अधिकार सम्मपन्न बनाओस् । सक्रिय पारोस् । प्रशासनिक ढिलासुस्ती कम गरोस् । बजार अनुगमन गरोस् । बिद्दमान नियम, कानुन र ऐनको पालना कडाईकासाथ लागू गरोस् । जथाभाबी बजार भाउ बढाउने, अभाव स्रिजना गर्नेमाथि कारवाही होस् । हुनेखानेलाई झन सुबिधा थप्ने, शहरिया केन्द्रित नीति बनाउने होइन कि गाउँ केन्द्रित योजना पनि बनाओस् । त्यतातिर डा सापको दिमाख कहिल्यै घुम्दैन ।
आफ्नै सल्लाहकारहरु बोल्नसम्म नजानेका बेढंगी छन् । उनलाई सल्लाह दिनेहरुको ध्यान कसरि डा सापको कुर्सी लम्ब्याउने र आफ्नो भत्ता खाने भन्ने ध्यान्नैमा मरिजाने छन् । उनैले गतिलो सल्लाह दिने भनेर राखेकाहरु भ्रस्टाचारमा पौडि खेल्ने पौडीबाज छन् । आफ्नै पत्नी, आफ्नै पार्टीको एक हस्ती भएर बसेकी कुन चोकका कुन कुन घर कुन कुन डोजरले भत्काउने भन्दै सडकमा सिठ्ठी फुक्दै हिँड्छिन् यस्ता महत्वपूर्ण कुरामा ध्यान नदिएर । अनि डा साप वाहियात सुशासनको गफ हाँक्छन् ।
नेपाली जनताको क्र्यशक्ति कति छ ? कर्णालीका जनता हरेक छ महिना अनिकालमा बाँच्छन् भन्ने हेक्का के प्रधानमन्त्रीलाई छैन ? गाउँका जनता पिडित छन् भन्ने उनमा ज्ञान छैन ? पिडित, उत्पिडित, गरिब, निमुखा जनता खोज्न गाउँ होइन शहरमैपनि लाखौं छन् भन्ने उनलाई आजसम्म थाह छैन ? डा सापको पार्टीले श्रमजिवी, श्रमिक, मजदूर, हेपिएका, थिचिएका, चेपिएका, उत्पिडनमा परेका जनतालाई समान हक र अधिकार दिने भन्दै जनयुद्द गर्यो । नेकपा माओवादीले जनयुद्द शुरु गर्नु अघि डा सापकै नेत्रित्वमा देउवा सरकारलाई बुझाएको ४० बुँदे मागमा गाउँका जनताका समस्या के हुन् लेखिएकै छन् ।
डा साप आफैं बेला बेला खुबै डिङ हाँक्छन्, जनयुद्दका बेला गाउँ गाउँ घुमियो, जनताका आँगन चहारियो, सँगै बसियो, सँगै सुतियो, सँगै घरगोठ, उकालो ओरालो गरियो भनेर । यस्तरी गाउँ चहार्दा डा सापका आँखा कता गएका रहेछन् ? गाउँ केन्द्रित यत्रो जनयुद्द गर्दा डा सापले गाउँका पीडा देखेनछन् ? सँगै रहँदा, बस्दा, गाउँमा मकै कोदो र भटमाससित रमाउँदापनि गाउँलेका वास्तबिक समस्या देखेनछन् र अब प्रधानमन्त्री भएपछि गाउँ जानुपर्ने भो ? जनयुद्दका बेला वास्तबिक भेष त बदले होलान् नै, के वास्तबिक आँखापनि डा सापले खल्तिमा हालेर हिँडेछन् ?
त्यतिले नपुगेर हाम्रो पार्टीलाई जिताएमा जनतालाई यो गर्छु र त्यो गर्छौं भनेर गत संविधान सभामा बाँडेको चुनावी घोषणापत्रमा स्पष्ठै लेखिएको छ त । कि डा सापलाई त्यस्को हेक्कापनि छैन ? प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुनासाथ, आफ्नी श्रीमती, आफ्ना आसेपासी र आफ्नो सुख सुबिधाले उकालो लाग्नासाथ सबै नेपालीको हैशियत समान भयो भन्ने भ्रम पालेका छन् डा सापले ? डा सापले गाउँले दुखि, गरिव, पिडित जनताको दैनिक जिवनमा कति परिवर्तनकामी काम गरे र अब के कति बाँकि छ भनेर बुझ्न गाउँ जाँदै छन् ? गाउँलेका बास्तबिक समस्या बुझ्न प्रधानमन्त्री गाउँमा गएर बस्नुपर्छ ? युएनडिपीका रिपोर्ट हेरे पुग्छ । गैरिबी निवारण कोषका दस्ताबेजले भनिदिन्छन् । आफ्नै पार्टीका जिल्ला जिल्लाका कार्यकर्ता, जिल्ला समितिको रिपोर्ट मागे पुग्छ । राष्ट्रिय योजना आयोगका पानामापनि अवश्यै होलान् । राष्ट्रिय ढुकुटी रित्याएर पालेका सल्लाहाकारको भूमिकापनि त प्रयोग गर्दा हुन्छ । त्यतिले नपुगे दिन दिनै गाउँ गाउँबाट आउने गाउँलेका वास्तबिक पीडा र उकुसमुउस नेपाली सञ्चार माध्यममा हेरेपनि डा सापको घैंटोको बिर्को खुल्छ ।
गाउँको शसक्तिकरण, ग्रामिण विकास, गाउँको हित कसरि हुन्छ भने दर्जनौं योजना बनिसकेका छन् । त्यो अहिले होइन पञ्चायती ब्यवस्थाकाल देखिका अलपत्र छन् । तिनैको अध्ययन गरेपनि गाउँको बास्तबिक समस्या बुझिन्छ । तिनै अलपत्र योजना कार्यान्वयन गरिदिएपनि गाउँलेको हित हुन्छ । डा साप हाम्रा गाउँलेको अवस्था बुझ्न गाउँमा गएर रात बिताउनु पर्दैन । यो सरासर झुठ हो । सरासर बेमानी हो । जनतालाई जिस्काउनु हो । आफ्नै पार्टी प्रति अनादार हो । केहि गर्न नसक्ने हुतिहाराको नखरा हो । चुनाव घोषणा गरेर गाउँका समस्या बुझ्न राति गाउँमा बस्छु भन्नु फेरी भोटका लागि सोझा जनता जनतालाई मूर्ख बनाउनु हो । सक्छौ भने केहि गर । सक्दैनौ भने त्यो प्रधानमन्त्री तिम्रो परिवारको बिर्ता होइन खुरुक्क छोडेर नक्शा कोर्न जाउ । कि त जाउ पार्टीको नेता, कार्यकर्ता बनेर गाउँको अवस्था बुझ्न । जनतालाई गोलबन्द गर्न । प्रशिक्षित गर्न । अनि बुझिहालिन्छ नी गाउँका जनताको पीडा । सर्वहारा जनताको नेता बनेर तिनैको मुक्तिकालागि दशक लामो समय हतियार उठाउने अनि प्रधानमन्त्री बनेपछि गाउँको बास्विक पीडा थाह छैन भन्दै नाटक देखाउन लाज लाग्नु पर्दैन ?हाम्रा गाउँको समस्या नबुझ्ने कि त “म साउदी राजकुमार हुँ” भनेर घोषणा गर ।
=========================================================
No comments:
Post a Comment