Thursday, May 24, 2012

नेपाली राजनीतिको ऐतिहासिक र मनोवैज्ञानिक पक्षहरु (कुमार लिङ्देन ‘मिराःक्’)

कुमार लिङ्देन ‘मिराःक्’दिपेन योङहाङ

अहिले हाम्रो देश नेपाल संघीयकरणको प्रकि्रयामा छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थारुहट, मैथिल, खसान, स्वायत्त राज्यहरुको कुरा जोडदार गरी उठिरहेको छ । एकात्मकवादीहरुले नेपाललाई राजनीतिक, भाषिक, सामाजिक, साँस्कृतिक, आर्थिक, वातावरणीय आदि हरेक रुपमा ध्वस्त गरेपछि देश समाज नव-निर्माणको चोखो भावनाले यी संघीय राज्यका मागहरु उठिरहेका हुन् ।
संघीयकरणको कुरा गरिरहँदा विगत २४० वर्षमा नेपालका एकात्मक सत्ताधारीहरुले कसरी देशलाई बर्बाद गरेछन् भनेर समीक्षा गरिनु पनि जरुरी हुन्छ ।
हामी बसिरहेको यस भू-भाग वा भारतीय महाद्वीपको इतिहास पनि बडो रोचक छ । पहिले यस भू-भागको उत्तरी क्षेत्र वा अहिलेको नेपाल, सिक्किम, बर्मा, भूटान, नागाल्याण्ड, मिजोरामदेखि गंगा नदीको फाँटसम्म मङ्गोलियन मूलका आदिवासीहरु बसिरहेका थिए । दक्षिण तमिलनाडुतिर द्रविडमुलका आदिवासीहरु बस्दथे । यी दुबै वर्गका आदिवासीहरुको आफ्नै भाषा संस्कृति जीवनपद्धति र सम्यताहरु थियो । यही क्रम्मा अहिलेको इरान इराक वा भू-मध्यरेखीय क्षेत्रबाट आर्यनहरु यस भारतीय उपमहाद्वीपतिर हुलका हुल आउन थाले । यो धेरै मलिलो र हरियो घाँसे मैदानहरुले भरिएको क्षेत्र थियो । यो क्षेत्रको रमाइलोपन देखेर ती आर्यनहरु लोभिए र यतै बस्ने सोच बनाए । तर यस क्षेत्रमा दुई प्रकारको आदिवासीहरु धेरै पहिलेदेखि नै बसिरहेका थिए । यी दुई प्रकारका आदिवासीहरुलाई ध्वस्त गर्न ती आर्यनहरुले अनेक षडयन्त्रहरु अपनाए । यही सयममा रामायण महाभारत ग्रन्थहरुको रचना भयो । यी दुईवटै ग्रन्थहरुमा आर्यनहरुले यहाँका आदिवासीहरुलाई षडयन्त्रमुलक ढङ्गले परास्त गरेको कथाहरु लेखिएको छ । जस्तो रामायणमा रामले रावणलाई प्रत्यक्ष जित्न नसकेपछि उसकै भाइ विभिषणबाट रावणको मुत्युको केन्द्र थाहा पाएर रावणको हत्या गरेका छन् । नत्र रामजस्तो आदर्श पुरुष युगपुरुष भनिएका व्यक्तिले त्यसरी षडयन्त्रको सहरा लिनु ठीक थियो कि थिएन अब आउने उत्तर उत्तरआधुनिक साहित्यले त्यसको विचार विमर्श गर्नेछ ।
यसरी नै महाभारतको युद्ध पनि षडयन्त्रमुलक छ । महाभारतको युद्धमा किराती राजकुमार एकलव्यले कौरव पक्षमा लड्न जाँदा कृष्णहरु अत्तालिएर उनका गुरुमार्फत् बुढी औंला मागेको घट्ना छ । बुढी औंला नै लगेपछि केले धनुकाँड हान्नु तरपनि एकलव्यले गुरुलाई आफ्नो बुढी औंला काटेर उपहार दिएकै छन् । त्याग र गुरुभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने एकलव्यबारे कहीँकतै कुरासम्म पनि गरिँदैन । शक्तिशाली भनिएका कृष्ण जसलाई देवताको रुपमा पुजिन्छ उनी आफै यति खुल्लम्खुल्ला पाण्डवहरुको पक्षमा लाग्नु ठीक थियो कि थिएन यस बारेमा हुने विचार-विमर्श नै उत्तरआधुनिक साहित्य रहेछ । तर सरसर्ती हेर्दा ती आर्यनहरु र मङ्गोलियन आदिवासीहरुको सीधै भिडन्त भएकोचाहिँ देखिँदैन । आर्यनहरुले पहिले द्रविडहरुलाई खत्तम गर्ने रणनीति लिए । र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गरेको नाटक गरे । आर्यनहरुले द्रविडहरुलाई सखाप गर्ने र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गाँस्ने रणनीति लिनुको पछाडि दुईवटा कारणहरु थिए । पहिलो द्रविडहरु विशेषगरेर दक्षिण भारतमा हजारौं वर्ष पहिलेदेखि बसेका थिए । तर उनीहरु फैलिन सकेका थिएनन् वा उनीहरुको व्यापक फोस्र थिएन । तर नेपाल क्षेत्रमा मङ्गोलियन आदिवासीहरुले एसियाभर छरिएका मङ्गोलियनहरुको एक भाग थिए । त्यसैले यी मङ्गोलियनहरुसँग युद्ध लड्दा धेरै लामो र भयङ्कर हुनसक्छ भन्ने सोचले ती आर्यन रणनीतिकारहरुले द्रविडहरुको विरुद्धमा उनीहरुको लडाइँलाई केन्द्रित गरे । सहयोग गर्न गएका एकलव्यहरुलाई पनि फकाई-फुल्याई बुढी औंला मागे र निस्तेज बनाए ।
यसरी आदिवासी द्रविडहरुलाई ध्वस्त गरेर आर्यनहरुले आफ्नो धर्म संस्कृति जातिलाई अघि बढाइरहेका थिए । शुरुमा आर्यनहरु धेरै मजवुत थिए । तर विस्तारै उनीहरुमा जातिभेद वर्णाश्रम जन्मियो र तँ ठूलो तँ सानो भन्ने कुरा ल्याएपछि उनीहरु धेरै कमजोर भइसेका थिए । यही क्रम्मा एघारौं शताब्तीतिर त्यही आर्यका पिता-पुर्खाहरु जो मुस्लिम भइसकेका थिए तिनीहरु भूमध्य क्षेत्रबाट आँधीहुरी आएजस्तै भारतका हिन्दू आर्यनहरुलाई आक्रमण गर्न आए । भारतका हिन्दू आर्यहरु जो द्रविडलाई ध्वस्त गरेर हाँसिरहेका थिए तर जातप्रथाको कारणले गर्दा अति कमजोर थिए । त्यसैले उनीहरुले ती मुस्लिमहरुको आक्रमणलाई सामना गर्न सकेनन् । हिन्दूहरुको भागाभाग भयो । मुस्लिमहरुले सत्ता कब्जा गरे । दिल्ली कब्जा गरे । धेरै हिन्दूहरु मुस्लिम भए । भनिन्छ- पाकिस्तानका राष्ट्रपिता भनिने जिन्नाको तीन पुस्ताअघिका बाजे हिन्दू थिए ।
यसरी मुस्लिमहरुको आक्रमणमा परेर आफ्नो भाषा धर्म जोगाउन धेरै हिन्दूहरु भागेर नेपाल आए । नेपालका मङ्गोलियन आदिवासीहरु र भारतका हिन्दूहरुको सम्बन्ध त्यसबेला राम्रै भएकोले उनीहरुको नेपाल आगमन सहजै ठानियो । किनकि एउटा नजिकको साथी अभर परेको बेला उसलाई स्थान दिनु मानवताको कुरा नै हो । तर आफूलाई शरण दिने मित्र सुतिरहेको बेला उसको मुटु छेड्ने गरी भाला रोप्नु न्यायसङ्गत धर्म सङ्गत र मानवतासङ्गत छ कि छैन थियो कि थिएन हुनेछ कि हुने छैन यो नै नेपाली समाजको अन्तरद्वन्द्वको केन्द्रीय विषयवस्तु हो ।यसरी मुस्लिमहरुको आक्रमण्मा परी आफ्नो राज्य गुमाएर नेपाल आएका हिन्दूहरुको दिमागमा “आफ्नो राज्य” गुमेको झझल्को घुमिरहेको थिएछ । त्यहीबेला द्रविडलाई लखेट्ने हिन्दू हिन्दूलाई लखेट्ने मुस्लिमहरुलाई पनि आफ्नो कब्जामा पार्दै बेलायतबाट कि्रश्चियन अङ्ग्रेजहरु भारतमा आएर शासन गर्न थाले । सङ्क्षेपमा भन्ने हो भने हामी बसिरहेको भू-भाग वा छिमेकी राष्ट्रको इतिहास धेरैपल्ट धार्मिक वा सभ्यताहरुको द्वन्द्व भएको छ । एकले अर्कोलाई सिध्याउने अनि त्यसलाई फेरि अर्कोले सिध्याउने घट्नाहरु भएका छन् । यो द्वन्द्वले अनेकौं छाल र तरङ्गहरु छोडिराखेको छ । तिनै छाल र तरङ्गहरु हुन् आजको यस क्षेत्रको राजनीतिक उथलपुथलहरु ।पृथ्वीनारायण शाहको दिमागमा त्यही एघारौं शताब्दीको झझल्को घुमिरहेको थिएछ । त्यसैले उनले तमुवान, मगरात, नेवाः, तामाङसालीङ, खम्बुवान र लिम्बुवानमा क्रूर र खुनी सैनिक हमला गरे । कथित् एकीकरण गरिसकेपछि उनले आफ्नो दिव्योपदेशमा भनेका छन्- “म नेपाललाई असली हिन्दुस्थान बनाउँछु ।” उनको यो भनाइमा एघारौं शताब्दीमा मुस्लिमहरुको आक्रमणमा परी आफ्नो राज्यहरु गुमाएको पीडा झल्किन्छ । उनका ती पीडाहरु ठीकै होला आफ्नो ठाउँमा तर हिन्दुस्तान गुमाउने भारतमा अनि फेरि असली हिन्दुस्तान खोज्ने नेपालमा ! त्यो पनि आफूलाई शरण दिने मित्रहरुको छात्तीमा भाला रोपेर ! हो यहीनेर नेपालको इतिहासले गलत बाटो लियो । पृथ्वीनारायण शाहले “नेपाललाई असली हिन्दुस्तान बनाउँछु” भनेकै दिनदेखि नेपाली राज्य राजनीति गलत र ओरालो बाटोतिर हिँड्न शुरु गर् यो । “अलसी हिन्दुस्तान” बनाउने ठाउँ नेपाल हो कि भारत हो ? यो नै यक्ष प्रश्न हो । के लण्डनलाई लिम्बुवान बनाउँछु भनेर उप्रुनु न्यायसङ्गत होला कदापि हुँदैन । हो त्यस्तै थियो नेपाललाई हिन्दुस्तान बनाउने कथित् कल्पना ।
तर दुर्भाग्य ! पृथ्वीनारायण शाहको त्यही “नेपाललाई असली हिन्दुस्तान बनाउँछु” भन्ने गलत मिशनकोपछि पछि २४० वर्षसम्म यो देश हिँडिरह्यो र अझै पनि हिँडाउँने दुस्प्रयास भइरहेको छ । २४० वर्षको मिशन नै गलत थियो । त्यसैले कवि भूपि शेरचनले बारम्बार आफ्नो कविताहरुमा यो आक्रोश पोखेका छन्- “गलत छ मेरो देशको इतिहास”, “यो हल्लैहल्लाको देश हो” र “यहाँ घुम्ने मेचमाथि अन्धो मान्छे बसेको छ ।” आधुनिक नेपालको जग नै गलत छ र त्यो गलत जगमा बनेका सबै तत्वहरु गलत छन् । यसको जगकै पुनः संरचना गरौं । यसको जग एकात्मक छ । त्यसलाई संघीय जग वा संरचनामा लैजाऊँ भनेर चिच्याउने कवि भूपि शेरचनहरुको आवाजलाई यहाँ सधैँ धूमिल पारियो र लक्ष्मीप्रसाद देवकोटाहरुको माया-प्रेमको कथाहरुको नै यहाँ बोलवाला बनाइयो ।पृथ्वीनारायण शाहको गलत मिशनमाथि उभिएको अहिलेको मिडिया। अदालत प्रहरी-सेनाको संरचना राजनीति सबै गलत छन् र यी सबै संरचनाहले अन्ततः नेपाल र नेपालीहरुलाई खाडलमा पुर् याउनेबाहेक केही गर्दैनन् । त्यसैले अब नेपाल राज्य संघीय ढाचामा जानुपर्छ भनेर आवाजहरु घन्किएको हो । एघारौं शदाब्दीमा मुस्लिमहरुको आक्रमणमा परी हिन्दू आर्यनहरु नेपाल छिर्नेक्रम् गलत थियो भनेर हामीले कहिले भनेका थिएनौं र भन्ने छैनौं । त्यो इतिहासको कालखण्ड थियो उथलपुथलको एउटा क्षण थियो र त्यसलाई विकासक्रमको एउटा चरण मान्नुपर्दछ । तर पृथ्वीनारायण शाहहरुले नेपालको अस्तित्व नै हराउने गरी असली हिन्दुस्तान बनाउँछु भन्दै कुर्लनु र त्यही ढाचामा यहाँको अदालत सेना-प्रहरी कर्मचारीहरुलाई अघि बढाउनु गलत थियो भनेर हामी सबै नेपालीले खुल्लम खुल्ला भन्न सक्नुपर्दछ ।
यसरी शरण दिनेहरुको छात्तिमा तिखो भाला रोपिरहँदा पनि नेपालमा कुनै बुद्धिजिबीहरु बोल्दैनन् । अनि हामीलाई चिच्याउन मन लाग्छ- “एउटा समुदायमाथि भएको जघन्य अपराध र अन्यायलाई पनि देख्न र त्यस बारेमा बोल्न नसक्ने ए कथित् बौद्धिकहरु हो फ्याँक्नुस् तपाइँहरुको एम्फिल पीएडीका सर्टिफिकेट र कलमहरु ।” हाम्रा यी आक्रोशहरु सम्झौताविहीन छैनन् हामी एउटा सम्झौतामा बस्न र बाँच्न चाहन्छौं । हामीले बुझैका छौं- नेपाल सबै नेपालीहरुको हो । तर यहाँको मुलवासीहरुको छात्तिमा भाला रोप्ने काम बन्द गरियोस् । नेपालको इतिहासको सम्मान गर्दै एउटा राजनीतिक सम्झौता वा संघीय संरचना निर्माण गरौं र त्यहाँ सबै मिलेर बसौं ।
नेपाली राजनीतिमा उदेक लाग्दो अर्को पाटो पनि छ । ल पृथ्वीनारायण शाह र उसपछिका राणाहरु त सामन्तवादी जातिवादी र यहाँका आदिवासीहरुको विरोधी भए नै । तर नेपाली कांग्रेस जसको स्थापना २००४ सालमा भयो कांग्रेसले भारतबाट धेरै सिकेको छ । यसका नेता वीपी कोइरालालाई उनीहरु महामानव भन्छन् । आधुनिक भारतको मुख्य संवैधानिक तत्वहरु चारवटा छन्- संघीयता गणतन्त्र लोकतन्त्र र धर्मनिरपेक्षता । हामीलाई प्रश्न गर्न मन लाग्छ- भारतमै जम्नेका हुर्केका पढेका राजनीति सिकेका तिनै महामानव वीपीले भारतले अङ्गीकार गरेको संघीयतालाई नेपाली राजनीतिमा किन प्रवेश गराउन सकेनन् भारतभन्दा बढी विविध इतिहास भएको मुलुक हो- नेपाल । त्यसरी नै सन् १९१७ मा लेनिनले रुसमा कम्युनिष्ट सत्ता स्थापना गर्दा १४ वटा स्वतन्त्र राज्यहरुको संघ निर्माण गरी सोभियतहरुको युनियन बनाएका थिए । तर २००६ सालमा स्थापना भएका नेपालका कम्युनिष्टहरुले किन कहिले संघीयताको सवाललाई नेपालमा प्रवेश गराएनन् त अनि हामीलाई लाग्छ- यिनीहरु जुनसुकै मखुण्डो लगाएर पनि पृथ्वीनाराय शाहले स्थापना गरेको र महेन्द्रले अझ कडाइका साथ लागू गरेको यहाँको आदिवासीहरुको वंश विनाश गर्ने अभियानमा यी सबैजना सहमत छन् । त्यसैले यी सबै सबैप्रति आक्रोशको लहरहरु मनभित्र उर्लिन्छन् । पछिल्लो पल्टको माओवादी आन्दोलनमा आदिवासी र उत्पीडित जातिका हजारौं युवाहरुले वलिदान दिए तर उसको सहमतिसहित आएको अन्तरिम् संविधानमा “संघीय” भन्ने शब्द थिएन । “संघीय” शब्द स्थापित गर्न लिम्बुवान र मधेश आन्दोलनलको क्रममा धेरैले वलिदान दिनुपर् यो । अनि हामीलाई लाग्छ- “आखिर हाम्रो कुरा त कसैले नउठाउने रहेछ । त्यसोभए उनीहरुसँग टाँसिएर किन बस्ने बरु स्वतन्त्र रुपमा आफ्नो मुद्दाहरुलाई उठाएर घघि बढ्ने । तर कसैको आशीर्वादमा नबस्ने नबाँच्ने ।” यो देश गलत बाटोतिर हिँडिरहेको छ र यसलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने लाग्छ भने हामी सरोकारवालाहरु वा पृथ्वीनारायण शाहको कथित् एकात्मक राज्य बनिनुभन्दा पहिले विभिन्न राज्यहरुमा बसिरहेका जनताका पुस्ताहरु राजनीतिक रुपमा सङ्गठित हुनुपर्छ र अघि बढ्नुपर्छ । कसैको निर्देशनमा खोलिएका जातीय सामाजिक संस्थाहरुले हामीलाई अलमलाउने छ । कुनै “सुपरम्यान” आउला र उसले हामीलाई मुक्ति देला भनेर भ्रमित सपनामा बाँच्नु हुँदैन । यहाँ कोही सुपरम्यान आउनेवाला छैन । कुनै विद्वान आउनेवाला छैन । हामीले देखेका र आसा गरेका सबै मान्छे हाम्रो विरुद्धमा छन् र पृथ्वीनारायण शाहको मिशनलाई निरन्तरता दिने ठाउँमा छन् । विद्वान र कलम चलाउन जान्ने भनिएकाहरु सबैभन्दा डरलाग्दो गरी हाम्रो विरुद्धमा सलबलाइरहेका छन् । यस्तो बेलामा कुनै “सुपरम्यान”को प्रतीक्षामा समय खेर फाल्ने होइन । बरु सबैजनाले आफैलाई सुपरम्यान सम्झेर सङ्गठित बनी अघि बढ्नुपर्दछ ।
लिम्बुवान आन्दोलन उठ्नुको पछाडि यही दृढ मनोविज्ञानले काम गरिरहेको छ । हामीले थाहा पायौं जसलाई हामीले विश्वास गरिरहेका छौं उसले एउटा तरबार गोप्य रुपमा लुकाएर बोकिरहेको छ कुनै एकान्त ठाउँमा उसले हामीहरुको हत्या गर्नेछ र हामीले आत्महत्या गरेको झूटा मुद्दा अघि बढाउनेछ । हामीले यति गुरुमन्त्र थाहा पाइसकेपछि ती एकात्मकवादीहरुसँग सबैखाले दिमागी नाताहरु तोड्नै पर्छ । वास्तवमा हामी असक्षम होइनौं । हामी सक्षम छौं । तर यति हो हामीले विगतमा आँट गरेनौं । अब आँट गर्नुपर्छ । सानो ठूलो जस्तो होस् हाम्रै विचार हाम्रै नेतृत्वले चल्ने राजनीतिक पार्टीहरु जन्माउनु पर्छ । “रोम एकदिनमा बनेन” भन्ने प्रसिद्ध वाक्यलाई सम्झौं । हो हाम्रो राजनीतिक पार्टीहरु एकै दिनमा सक्षम नहोलान् । हाम्रो सपनाहरु एकैदिनमा पूरा नहोलान् । तर निरन्तर प्रयास गरियो भने एकदिन न एकदिन हाम्रा सपनाहरु अवश्य पूरा हुनेछन् । आफ्नो खुट्टामा उभिने आफ्नो लागि आफ्नै दिमागले सोच्ने मनोविज्ञानका साथ अघि बढौं । अवश्य पनि संघीयवादीहरुकै जित हुनेछ ।
E-mail: kumarlingden@gmail.com
मूल स्रोतः संघीय मासिक वर्ष १, अङ्क ६/७, पूर्णाङ्क ७ पुस-माघ २०६७

6 Votes

No comments:

Post a Comment