Sunday, June 3, 2012

वैद्य पक्षको राजनिती गर्ने भुइदल राई तरिका ....

· Profile Pictureदिपेन योङहाङ
  • वैद्य पक्षको राजनिती गर्ने भुइदल राई तरिका

    श्रीशीशा राई

    नेपालमा पञ्चायत काल उत्कर्षमा पुग्दै गरेकै बेला पुर्वी पहाडी जिल्ला भोजपुरमा एकजना पात्र निकै चर्चित रहे । उनी थिए भुइदल राई । विकट तथा दुर्गम गाउँवाट धेरथोर राजनैतिक चेतना लिएर निक्ले । त्यति भएपछि त्यसबेलाका लागि अरु के चाहियो र, भोजपुर जिविसको सभापति भए । अञ्चलाधिश हुँदै तत्कालिन राजा महेन्द्रको ठाडो हुकुमवाट राष्टिय पञ्चायत सदस्य समेत भएपछि त भोजपुर जस्तो विकट पहाडी भेगका जनताका लागि उनी आकाशवाट खसेका कुनै अद्भूत मानव भन्दा कम मानिँदैनथिए । दुर्गम बाटो, गाउँघर उनी घोडाको सहायताले मात्र हिँड्थे, घोँडाका अघि पछि आसेपासेहरुको लाम हुन्थ्यो । कोही विपन्न वा उनले चाहेको मान्छेलाई अलिकता बक्सिस पनि बाँढ्दै हिँड्थे उनी । गरिब सर्वसाधारण उनलाई सरकार भनेर सम्बोधन गर्थे । त्यतिखेर भुइदल जत्तिको चर्चित त्यो क्षेत्रका लागि अरु कोही थिएन । उनका पछि जनता यति थिए की प्रत्येक घरका प्रत्येक मान्छे उनले जे भने पनि भन्ने वित्तिकै गर्न तयार हुन्थे ।
    नेपाली जनतामा राजनैतिक चेतना अभिवृद्धिसँगै पञ्चायत ब्यवस्थाप्रति वितृष्णा पैदा हुँदै गयो र प्रजातन्त्रप्रति आशक्ति बढ्दै गयो । फलस्वरुप २०४६ सालको ऐतिहासिक जनआन्दोलन मार्फत नेपालमा प्रजातन्त्र स्थापना भयो र संसदिय राजनीति शुरु भयो । नेपाली जनता आफ्नो विचार अनुसारको राजनैतिक पार्टी रोज्न सक्ने भए । नेताहरु आ आफ्ना कार्यकर्ताहरुलाई साथमा लिएर पार्टी खोल्न थाले । दलहरु स्थापनाको क्रम बढ्यो । प्रतिबन्धित पार्टीहरु क्रियाशिल हुन थाले । यसरी राजनैतिक माहौल स्वतस्फुर्तरुपमा सर्लक्कै परिवर्तन भएको बेला उनै भुइदल राई चै के गरे होलान् त ?
    उनले प्रजातन्त्रको ठाडै विरोध गरे । तर जति विरोध गरेपनि पार लाग्ने अवस्था थिएन किनभने माहौल नै प्रजातन्त्रमय भइसकेको थियो । आखिर उनले पनि एउटा कुनै न कुनै दलको सहारा लिएर आफ्नो राजनैतिक छवि र भविष्यलाई कायम राख्नु नै थियो । अन्ततः उनले पार्टी रोजे तत्कालिन राष्टिय जनमुक्ति पार्टी । यो पार्टी त्यतिखेर साम्प्रदायिक मुद्धाहरुलाई आफ्नो अवधारणा बनाएर स्थापना भएको एकमात्र पार्टीको रुपमा परिचित भईसकेको थियो । भुईदल राईले पनि प्रजातन्त्रको शुरु तिर साम्प्रदायिक भाषणहरु गर्दै हिँडे । क्षेत्री बाहुन, राई लिम्बु अथवा नाक चुच्चे नाक थेप्चे आदी भन्दै हिँडे । र पञ्चायतकालका उनै हाई हाई भुईदल राई प्रजातन्त्रको आगमनसँगै कुनै खास समुदायका लागि क्रमशः छुच्चो व्यक्तिका रुपमा अलोकप्रिय हुँदै गए ।
    उनै भुईदल राई जीवनको पछिल्लो अवस्थामा लेखनमा समर्पित छन् । विषय, मुद्धा र सरोकार जे जस्तो जतासुकै भएपनि उनी लेख्छन् । लेखिरहेका छन् । लेखनमा सामयिकता, पाठकीय भावना, राष्टिय परिवेश अथवा लेखकिय जिम्मेवारी झल्कियोस या नझल्कियोस, लेखि नै रहेछन् । उनको लेखनवाट उनलाई आत्मसन्तुष्टी त मिलेको होला तर वर्तमान परिवेशका सन्दर्भमा उनी आफैभित्र भ्रममा छन् र उनका लेख तथा प्रकाशनहरुका पाठकहरुको संख्या र स्तर अत्यन्तै कमजोर छ । अथवा उनी हामी माझ छन् तर गुमनाम छन् ।
    बर्तमान नेपाली राजनैतिक परिवेशमा मोहन बैद्य पक्षको राजनितीमा पनि म भुईदल राईको यही हविगत र भविष्य देख्छु कता कता । यद्धपि बैद्यहरुको राजनिती गर्ने शैलीमा फरक छ । मिल्न सकिने र मिल्न पर्ने विषयहरुलाई पनि तीलको पहाड बनाएर निहुँ खोज्ने तरिकाको यो राजनितीले बैद्य पक्षलाई राजनैतिक हुलमुलमा एकलकाँटे, अकडो र अप्ठ्यारो पाराको सावित गरेको मात्र छैन, मौका परेका बेला स्थापित हुने (एड्जस्टमेन्ट) राजनिती गर्न चुकेर वा त्यस्तो राजनिती प्रतिशोध स्वरुप नगरेर उसले आफ्नो राजनैतिक भविष्यलाई नै अराजनैतिक र अस्तित्वहिन तुल्याउँदैछ ।
    ठिक छ, पार्टी भित्र फरक मत हुनु जायज हो । त्यसलाई छलफलमा पनि ल्याइनुपर्छ । तर त्यही आन्तरिक विषयलाई सडकमा छताछुल्ल पोखेर आफ्नै पार्टीलाई कमजोर तुल्याउने कदम कुनै पनि कोणवाट जिम्मेवार छैन । अझ ताज्जुब लाग्दो विषय त के छ भने एकिकृत नेकपा माओवादी भित्रको आन्तरिक किचलो त्यतिबेला सडकमा पोखियो जतिबेला पार्टी सरकारको नेतृत्वको सगरमाथा चढ्न झोला तुम्बी कसीसकेको थियो । बैद्य पक्ष त्यतिबेला जागेर आयो जतिबेला मन्त्रालयको भागबण्डा गर्ने बेला भयो । सरकारी शक्तिको भागबण्डा पार्टी वीचमा मात्र होईन, गुट विचमा पनि हुनुपर्छ भन्ने ध्येयले जब स्थान लियो अनि फरक मतका लहर आए । बैद्य पक्षको पार्टीभित्रको असहमति वा गुटको निर्माण खालि मन्त्रालयको भाग नपाउनुको आक्रोश मात्र हो भन्ने कुरा पार्टीका जिम्मेवार नेताहरुकै मुखवाट पटक पटक सुनिएको कुरा हो । होईन भने, यदि निश्चय नै त्यो सिद्धान्तनिष्ठ लडाई हो भने किन राष्टियताका मुद्धामा छलफल गर्ने बेला असहमतिका कुरा बाहिर आएनन् ?
    केही महिना अघिदेखि हात्तिबन रिसोर्टको बैठकसम्म आईपुग्दा बैद्य पक्षले आफ्नो फरक मतलाई जारी नै राखेको छ । तर ती विषयहरु कुनै दृष्टिबाट पनि जनताको पक्षमा देखिँदैनन् । सेना समायोजन, राज्यको शासकिय स्वरुप, संविधानका अन्र्तवस्तु लगायतका मुद्धामा उसले जुन जडसुत्रवादी मानसिकताले अडान लिइरहेको छ, त्यसले नेपाली समाजलाई पुनः युद्धमा धकेल्ने निश्चित छ । यी केही असहमति वा अडानहरु हेर्दा बैद्य पक्षको कदम केवल नेतृत्व वीचको जुँगे लडाई वा प्रतिशोध जस्तो मात्र लाग्दछ । त्यति लामो जनयुद्ध लड्दा जम्मा भएका केही मनमुटाब, मनोमालिन्य र व्यक्तिगत रिसइबी जस्ता झिना मसिना कुराहरुलाई समेत हाल सिद्धान्तको उचाइमा सिउरेर नेतृत्वलाई सखाप पार्ने दुर्नियत जस्तो देखिन्छ । केही प्रसंगहरुवाट हेर्दा बैद्यपक्षको यो राजनितीको कारण मोहन बैद्य किरण आफैको नभएर उनलाई साथ दिने केही युवा महाक्रान्तिकारीहरुको सन्कीपन जस्तो पनि देखिन्छ ।
    जसले जस्तो राजनिती गरेपनि जनताको सर्वोपरी हितकै लागि गर्ने हो । विवाद, असहमति, विरोध, आन्दोलन जे भएपनि त्यसको केन्द्रविन्दु जनता हुनुपर्छ । यदि यस्तो नहुने हो भने त्यो राजनितीको बाह्य रुप राष्टको पक्षमा जस्तो देखिएपनि भित्री रुप गुटगत र गैरजिम्मेवार हुन्छ । बैद्य पक्षको हालको राजनिती ठिक यही कुलोमा वगीरहेको छ । विगतमा युद्ध जन्य जति गतिविधी गरेपनि अबको नेपाली जनताको समुल आवश्यकता शान्ति र संविधान हो । स्पष्टतः अहिले नेपाली जनता न विद्रोह चाहान्छन् न युद्धको कहर । नेपालको भविष्य शान्ति स्थापना र संविधान निर्माणमा नै आधारित छ । तर बैद्य पक्षले जनविद्रोहको लाइन लिएर बेमौसमी कुभिण्डो फलाउन खोजिरहेको देखिन्छ । चानचुन हिसाव गरि हेर्दा बैद्यपक्षको यो गतिविधी नेपाली जनताको उत्थान, समाजिक परिवर्तन वा नयाँ नेपाल निर्माणका लागि नभई आफ्नै नेतृत्व विशेष गरी प्रचण्ड र बाबुराम भट्टराईलाई ठेगान लगाउनका लागि जस्तो देखिन्छ । समस्या पार्टी भित्रको जस्तो त देखिन्छ तर यही गतिविधीले उत्कर्षमा पुग्न लागेको शान्ति स्थापना र संविधान निर्माणको निरन्तर वेगमा अवरोध सिर्जना गरिरहेको छ । यस अर्थमा बैद्य पक्षको यो कदमले समग्र मुलुकको नयाँ स्वरुप निर्माणमा बाधा गरेको छ । अथवा देशको विकास रोकेको छ । बैद्य पक्षको यो चालढालले नेपाली जनताको अपार विस्वास बोकेको एनेकपा माओवादी नेतृत्वलाई त्यो विस्वास अनुरुप राष्टिय हितका पवित्र कार्य गर्न अल्मल्याईरहेको छ । के पार्टीको आन्तरिक विवाद अझ भनौँ मनोमालिन्य वा व्यक्तिगत इबीकै कारण बैद्यहरुले देशको विकास नै अवरुद्ध गर्न मिल्छ ? स्वास्नीको रिसले घरै आगो लगाउने ? यो आफै घर पनि नबनाउने अर्काले बनाएको घर पनि भत्काउने बाँदर प्रवृत्ति होइन र ? कहाँको जिम्मेवार राजनिती हो यो ?
    संविधान जारी गर्ने समय सिमा अब घण्टामा गणना हुने बेला भईसक्यो तर अन्य केही समुह, संगठन वा दलहरु जस्तै बैद्य पक्षले पनि सहमति र निर्णय उन्मुख विषयहरुमा एकपछि अर्को अड्को थाप्दैछ । कार्यकारी राष्टपतिको अडानमा रहेको प्रचण्ड बाबुराम पक्षलाई माथ खुवाउन वा बाइकट गर्ने हिसाबले उसले पछिल्लो समय कार्यकारी त कार्यकारी राष्टपति तर सवैले मान्य हुने राष्टपतिको अड्को थाप्न शुरु गरेको छ । अझ उसले जेठ १४ मा कुनै पनि हालतमा संविधान बन्दैन भन्दै नै आएको छ । यसको अर्थ जेठ १४ मा संविधान जारी गर्न दिँदैनौँ भन्ने पनि हो । अब जारी हुने संविधान निर्माणमा बैद्य पक्षको कुनै पनि योगदान नरहने बरु आफ्नै नेतृत्वलाई सकेसम्म अप्ठ्यारोमा पार्न कै लागि मात्र भएपनि नकारात्मक गतिविधी बढाउने स्पष्ट नै छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने जस्तो महत्वपुर्ण समय भनेको नेपालका कुनैपनि राजनैतिक शक्तिहरुका लागि सुनौलो अवसर हो । यही अवसर चुकाएमा इतिहासमा त्यो शक्ति नामेट हुने निश्चित छ । यदि बैद्यहरुले आफुलाई एक शक्ति नै मान्छन् भने आफ्ना मुद्धाहरुलाई पनि समेट्दै संविधान निर्माण र जारी गर्नका लागि समर्पित हुनुपर्छ । मौकामा गर्नुपर्ने काम पनि गरिएन भने भोलि अस्तित्व भन्ने चीज कुनै गल्लीमा खोज्दा पनि नभेटिन सक्छ ।
    यहीनेर फेरी उनै भुईदल राईको प्रसंग आउँछ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका समकालिन हुन् भुइदल । २०४६ सालको जनआन्दोलन पछि यी नेताहरु नेपाली काँग्रेस जस्तो ठुलो जनमत भएको पार्टीमै रहे । फलस्वरुप उनीहरुको मिहनेत, योगदान, विचार र नेतृत्व छवि लाखौँ जनताको ह्दयसँगै जिवित र ग्राह्य रहीरह्यो । मरणोपरान्त समेत उनीहरु महान नेताका रुपमा पुज्य छन् । यसको लगभग विपरित भुइदल राईले ०४६ को जनआन्दोलन पछि जनमुक्ति पार्टीलाई अँगाल्न पुगे । जनाधार नै नभएको साम्प्रदायिक जस्तो असामयिक र असान्दर्भिक विचार बोकेको पार्टीको सहारा लिन पुग्दा उनका कतिपय योगदान, क्षमता, अवधारणा तथा छवि भन्ने चीजको उचित सदुपयोग हुन पाएन । तिनको मुल्य आँकलन हुनै सकेन । बरु यिनै चीज पछि गएर बदनामीको संकटमा फसे । अथवा भुइदल राईले जनआन्दोलनपछि आएको दलिय राजनैतिक माहौललाई क्यास गर्न सकेनन् र हालको उनको जीवन जताततै देखिने, भेटिने तर महशुस गर्न नसकिने खालको छ । उनी बेमौसममा फलेर पनि छिप्पिइसकेको बनतरुल जस्तो आउट डेटेट भईसकेका छन् । यही दृश्यवाट मलाई बैद्य पक्षको हविगत र भविष्य छर्लंग देखिएको महशुस हुन्छ । अनावश्यक नखरा गर्न छाडेर पार्टी र नेतृत्वलाई साथ दिँदै शान्ति र संविधान निर्माणको राष्टिय जिम्मेवारीलाई बहन गर्दै नेपाल र नेपाली जनताको सर्वोपरी हितको एतिहासिक काममा सहभागी हुनु उसका लागि दिर्घकालिन प्रभाव वा अस्तित्व बचावको ठोस कदम हुनसक्छ नत्र बैद्यहरु पनि भुइदल राई जस्तै भविष्यमा अचकल्टो, अफापसिद्ध र गुमनाम जीवन बाँच्नुपर्ने देखिन्छ ।
    shreeshisha@gmail.com

No comments:

Post a Comment