Saturday, May 26, 2012

काङ्सोरे(काङवा)वारे टिप्पोट माथिको टिप्पणी

दीपेन योङहाङ

by Tanka Wanem on Thursday, April 12, 2012 at 5:10pm ·
काङ्सोरे(काङवा)वारे टिप्पोट माथिको टिप्पणी:- विश्वास दीप तिगेला भाईले इमानसिं चेमजोङद्धारा लिखित “किरातकालीन विजयपुरको संक्षिप्त इतिहास” पुस्तक पृष्ठ ९१ वारे गम्भिर ध्यान आर्कषण गराउँनु भएकोमा धन्यवाद दिन चाहान्छु। मलाई जहाँसंम्म लाग्छ “किरातकालीन विजयपुरको संक्षिप्त इतिहास” पृष्ठ ९१ संग सम्बन्धीत पृष्ठ ११४ मा भएको श्री जैकर्ण वनेम्बा फागो राय र अन्य लिम्बूवानका रायहरुको नाममा भएको चिठ्ठी मोहर नहेरी यो गम्भिर लाञ्छना लगाउँनु भएको होला भन्ने लागेकोछ। म संग भएको उक्त पुस्तक किरात याक्थुङ चुम्लुङ केन्दि्रय कार्यालयले बि.स २०५९ सालमा दोश्रो संस्करण गरेको पुस्तक हो। जस्को पृष्ठ ९१ मा गोर्खा–लिम्बू युद्ध (बि.स १८३०–१८३१ साल) प्रथम आक्रमणवारे यसरी लेखिएकोछ। बि.स १८३१ सालतिर चैनपुरमा सुब्बा जैकर्ण रायको नाम प्रसिद्ध थियो। यसै साल गोर्खा सेनाले अरुण नदी तरी चैनपुरे लिम्बूहरुका थुममा आक्रमण गर्न अरुण नदी र सिवा (सभा वा?) नदीको दोभानमा मोर्चा बाँधेका छन भन्ने खवर सुब्बा जैकर्ण रायका कानमा पुग्नासाथ उनले आफ्नो राज्यभरको लिम्बू फौज उठाई साङवोत राय,तेसाक्पा राय तथा काङसो राय अफिसरहरुको नेतृत्वमा आक्रमणकारीहरुका विरुद्ध लडाइँ गर्न पठाए।१ ऐ.पुस्तकको पृष्ठ ११४ मा लिम्बूवानको थुम थुमका सुभा (सुब्बा) रायहरुलाई बि.स १८४१ सालमा श्री ५ रणबहादुर शाहले निम्न चिठ्ठी मोहर गरि दिएका थिए।   चिठ्ठी मोहर स्वस्ति श्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मान्नोनत श्री मन महाराजधिराज रणबहादुर शाह देबानाम् सदा समर विजयीनम् स्वस्ति श्री सिर्देउ राय फागो राय,श्री आतहाङ फेदाप पङयाङ राय,श्री शुभवन्त लिबाङ राय,श्री शामो चेमजोंग राय,श्री जैकर्ण वनेम्बा फागो राय के आशिष। पूर्बका पत्रम् इदम्। इहाँ कुशल ताहाँ कुहल चाहिए । पत्र आयो। अर्थ विदित भयो। आगे यहाँको समाचार भलोछ। उप्रान्त सुखिमतिरको हकिगत, सुब्बाहरुको हकिगत,राजदल रायको खबर विस्तार बिन्ती गरी पठाएछौ। मालुम भयो। तिमीहरुले तेतातिर मानिस पठाइ बोलन्या चाहन्या जस जससंग जति जति कुरा गर्न्या हो गरी राख दरबारमा ब्रतबन्धको काम छ यति काज सक्य पछि तेतातिरको काम गर्नुछ। बाँकि सुखिमतिरबाट कटक गर्छ भन्या लेख्या छौ। मुख्ये कटक गर्न सकेन। कदाचित आइजाला तापनि सुब्बाहरु छेउ भनी सुनी खर खजाना तयार गरी राख। आइ गया कत्तल गरौला। परन्तु गौडा पनि जहाँ जहाँ बिगर्‍याको छ। मानिस झारा गरी चाँडो बनाव। बाँकी गजदल राय पनि षा नषा आउछ भनी निश्चित बुझी बिन्ती गरी पठाए पिछाको मोहर बक्सी पठाउँला। परन्तु तिमीहरुको दुख दर्दको कुरो तिमीहरुका भाई छोराहरु जहाँ छन समपक्षे बनाइ बक्सौला। खातीर जम्मा सित काम कुरो बनाइ घरी घरी तेतातिरको खबर पठाउन्या गर। इति संम्बत १८४१ साल माघ वदी मोकाम कान्तिपुर शुभम।२                           
उक्त माथिको चिठ्ठी मोहरको क्रममा सम्बोधन गरिएको जैकर्ण वनेम्बा फागो राय बि.स १८३० साल देखि बि.स. १८४८ सालसंम्म चैनपुर थुमका मुख्य सुभा देखिन्छन्। सम्बोधन गरिएका सुभा वा तत्कालीन अवस्थाका अपुङगि (स्वतन्त्र) राजाहरुबाट पूर्वको हाल खवर घरी घरी कान्तिपुर पठाउन अनुरोध गरिएकोछ। कुनै कुनै इतिहास वा कस्यरुक्कामा जैकर्ण फागो वनेम्बा (वनेम) को नाम “जयकर्ण” वा जसमुखी राय लेखिएको पनि पाइएकोछ। “लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली” पृष्ठ नं.२७७ मा खेतमुखी आगे सुब्बा खड्क बहादुर आङदेम्बेद्धारा सङ्कलित बि.स १८०१ देखि २००७ संम्म लिम्बूवानमा भएका ऐतिहासिक टिप्पोट अनुसार “बि.स १८३७ सालमा देशमान सुबेदार धनकुट्टा आयो। जैकर्ण फागोसंग मित लायो” भनेर टिप्पणी लेखिएकोछ। तर सुबेदार देशमानसंग हो वा तत्कालीन राजासंग हो उल्लेख गरिएको छैन। गोर्खाका राजाहरुले मकवापुर र भक्तपुर राज्यका राजाहरुसंग मीत लाएर मित्रताको फाइदा लिएको इतिहासलाई आधार मान्दा यो मित्रताको साइनो राजा पृथ्वी नारायण शाहका उत्तराधिकारी रणबहादुर शाहसंग मित्रता गाँसिएको अनुमान गरिएकोछ। श्री सिर्देउ राय (फागो वनेम) र जैकर्ण वनेम्बा फागो रायले भोगचलन गरेको भौगोलिक सीमाना साथै राजनैनिक हैसियत र वंशजको संम्बन्ध एउटै भएको हुनाले श्री काजीमद श्री कृध्य शाहले दुई जना फागो सुभाहरुलाई निम्न कस्यरुक्का गरि दिएका थिए।   सिर्देउ राय र जयकर्ण राय दुइ जना फागु (फागो) रायको नाममा भएको कस्यरुक्का.....श्रीदुर्गासहाय स्वस्ति श्री काजिमद श्री कृध्य साह कस्य पत्रम आगे फागु श्री र्देउ राय जयकर्न रायके आसिष उप्रान्त तेरो पिछा मैले लियाकोछ मेरो बन्याको दिन तेरो ज्या बिग्रयाकोछ म बनाइ दिउँला खातिर्जामासंग बस इति सम्बत १८४८ सालमा भाद्र शुदि ३ रोज ४ शुभम――――――――――― ( तत्कालीन चैनपुरका शुभा (हाङ) जयकर्ण राय फागो वनेम्बा (वनेम) र सिन्धोलुङ मैवा खोलाका श्री सिर्देउ राय फागो वनेमले पाएको कस्यरुक्काको फाटो कपि हेर्नु होला)                  यी माथिका प्रमाणहरुबाट यो इतिहासको दावी नियतवश गरिएको हो वा इतिहास सम्मत हो स्पष्ट हुनेछ। तपाइले भने जस्तै संसारमा बलात इतिहास बिगार्न पाइन्दैन भन्ने ज्ञान आएको हुनाले नै सबुत प्रमाणको साथमा बि.स १८३१ वैशाख २५ गते गोर्खाली सैन्य विरुद्ध शहीद भएका काङसोरे वा काङवा फागो वनेम हुन भन्ने अभियानमा जुटि रहेका छौं। त्यसकारण तपाईको आग्रहलाई शिरो उपरगरि यी माथिका प्रमाण (पृष्ठ) हरु हेर्न म फेरि पनि विनम्र अनुरोध गर्दछु। रघु रानासंगको लडाईताका विजयपुरमा बुद्धिकर्ण राजा थिए र उनका काका काङसोरेलाई सेनापति दिए भन्ने मनोगणन्त कथा मात्र हो। बुद्धिकर्ण कसरी राजा भएका हुन भन्नेवारे फेहरिस्त इतिहास प्रस्तुत नगरौं। समयले साथ दिए कुनै दिन गरौंला। उनी त्यती सहज स्थितिमा राजा भएका होइनन् र उनीसंग त्यस्तो शक्तिशाली राजा बन्ने समय पनि थिएन। बुद्धिकर्ण र कामदत्तसेनको (राजा र मन्त्री) वीचमा राज्यसक्तावारे मतभिन्नता भएको हुनाले मन्त्री बुद्धिकर्णले भुटानबाट ल्याएका दश जनाको सैनिक टुकडिद्धारा कामदक्तसेनको हत्या गरि चौदण्डिका राजा कर्णसेनलाई राजाको थपना राखि राजा बनेका हुन। त्यसैवेला पृथ्वी नारायण शाहको एकिकरण विस्तार पूर्व बढी सकेको र आफ्नै विजयपुर राज्यलाई जोगाउन नसकेको बेला कहिले ल्हासा,भुटान र कहिले इष्ट इण्डिया कम्पनिसंग गुहार माग्न भारतको ठाउँ ठाउँमा सहयोगको भिक मागि रहेको अवस्थामा आफ्ना काकालाई चैनपुरको युद्धमा लडाइँ गर्न पठाए भन्नु महाझुठ इतिहासको खेती गर्नु मात्र हुनेछ। यो विषयलाई पाठकहरुले मनन् गर्ने नै छन।               
कसैले वास्ता नगरेको काङसोरेवारे तिगेला वंशहरुले अग्रणी भूमिका निभाइ सके पछि अरु वंशहरुले पनि दावी गर्न आए। यसो भन्नु विवेकपूर्ण तर्क हुन सक्दैन। आफ्ना वंशवारे आ–आफ्नै खाले पहल भई रहेको हुन्छ। बि.स २०५१ साल देखि फागो वनेम वंशावली लेखिन्दैछ। उक्त वंशावली लेखिनु अघि देखि नै काङसारे (काङवा) वारे फागो वनेमहरुको स्पष्ट धारणा र वंशक्रम जोडिन्दै आएकोछ। पत्र पत्रिकामा चर्चा परिचर्चा नआउँनु अर्कै कुरो हो। फागो वनेम वंश भित्र धेरै बर्ष अघि देखि काङसोरेको मूर्ति बनाइ धरानको कुनै ठाउँमा राख्ने योजना भए पनि बि.स २०६८ साल माघ १६ गते मात्र उक्त प्रस्तावलाई वनेम परिवार कल्याण संस्थाले पारित गरि धरानको सप्त रंगी पार्कमा राख्ने निर्णय गरेकोछ र मूर्ति बनाउने काम मूर्तिकार योगेन्द्र सुब्बाले लिएका छन्। अर्को कुरा विभिन्न अग्रजहरुले तिमीहरु (तिगेला) को पूर्खा हो भनेको साथै इतिहासको पुस्तकहरुमा पनि उल्लेख भएको भन्नु भएकोछ। हामीले माथि दिएको पुस्तक र पृष्ठ नं. को विवरण दिए जस्तै कुन इतिहासकारले कुन पुस्तकको कति पृष्ठमा लेखेकोछ स्पष्ट गरेर उल्लेख गर्नु होला। काङसोरे र तिगेला वीचमा सम्बन्धीत कस्य रुक्का,सनद सवाल वा लालमोहरहरु यो भित्तामा टाँस्नु भए पाठकहरु पनि इतिहासको न्यायधिश हुने छन्। नाम मिल्दैमा वंशको दावी गर्दा इतिहास सम्मत हुन सक्दैन भन्ने हाम्रो राय हो।                 
खेवा वंशावलीकै आधारमा पनि बि.स १८३१ मा गोर्खाली सैन्य विरुद्ध लडने काङवा (काङसोरे) खेवा वंशको हुन सक्दैन। खेवा वंशको वंशावली अनुसार हाङजिलीहाङदुम्बाका नवौ पुस्तामा काङसोरे नामको तिगेला खेवा देखा परेका छन। इमानसिं History and culture of Kirat people part 2  page ११७ अनुसार राजा सिरीजंगाको राज्यकाल सन ८८०–९१५ (बि.स ९३७–९७२) मा राजाको शासन विरुद्ध लड्न अपुङगी राजाहरुको उदय भएको थियो। त्यहीँ अवधिमा राजा मावोहाङका छोरा मुदाहाङले राज्यको बागडोर सम्हालेका थिए। तर अपुङगी हाङहरुले उनको शासन नमानी विद्रोह गर्न लागेका थिए। त्यहीँ मौका छोपेर छोङदेनहाङले (तोकमिदेन–हात्तीखर्क) आफ्नो स्वतन्त्र राज्यको लागि खेवा वंशका तुम्बाहाङसंग लडाई लडेका थिए। तुम्बाहाङ हाङ्जिलि हाङ्दुम्बाका माइला छोरा लम्दुमहाङ मङयाकका नाति रामाजिताका जेठी श्रीमतिबाट जन्मेका हुन। उनै हाङ्जिलि हाङ्दुम्बाको नवौ पुस्ता अथवा नौ (९००) सय बर्ष पछि काङसोरे नामको तिगेला खेवा देखा परेका छन।दश सरदारहरुको विद्रोह पछि छोङदेनहाङका सन्तानहरुको नाममा लाल मोहर भए पनि छोङदेनहाङ अस्तित्वमा थिए भन्ने कतै उल्लेख भएको छैन। यो हिसावले छोङदेनहाङलाई दश सरदारहरुको विद्रोह अघिको मानियो भने हाङजिलीहाङदुम्बालाई पनि त्यहीँ समयको मान्नु पर्ने हुन्छ। खेवा वंशावली पृष्ठ २९ अनुसार उनै छोङदेनहाङले हाङजिलीहाङदुम्बाहाङको जेठी छोरी लोहाङदोमालाई विवाह गरेका थिए। खेवा वंशका दशौ पींढी हाङजिलीहाङदुम्बाहाङ र छोङदेनहाङलाई दशौं शताब्दीको उत्तरार्द्धतिरको मानियो भने १८ औ शताब्दीसंम्म पुग्न करिव सात वा आठ सय बर्षको लामो समय अवधि चाहिन्छ। समयजनित कालगणना सहितको घटना विवरणलाई मात्र इतिहास सम्मत मानिन्छ वा पुस्तौली हिसाव गर्ने मापद48ड अनुसार २५ वा ३० बर्षले गणना गर्दा त्यो समय भनेको २३ देखि २७ पुस्ताले गुर्जार्ने समय हो। एक दुई जना खेवा वंशका पुर्खाहरु १०० बर्ष बाँचे पनि सबैका सबै ९ जना खेवा वंशका पुर्खाहरु एक एक सय बर्ष बढी बाँचेका थिए भन्नु असम्भव र इतिहास सम्मत हुन सक्दैन।  खेवा वंशावली प्रकाशित–२०५५,पृष्ठ २६ अनुसार हाङजिलीहाङदुम्बाका संन्तानहरुले सेत्लुङ,थाक्लुङ (ताक्लुङ) खेवा लिम्बूहरुको यक (गढी) वरिपरि आँपका बगैँचा समेत लगाएका थिए। बि.स २०५५ साल संम्म जीवीत रहेका ति बगैँचामा भएका आँपका रुखहरुलाइ करिव १२ सय बर्ष पूरानो भएको अनुमान गरिएको छ। यो हिसावले भन्ने हो भने हाङजिलीहाङदुम्बाका छोराहरु छुट्टिएको समय आठौं शताब्दीको उत्तरार्द्ध वा नवौं शताब्दीतिर मान्नु पर्ने हुन्छ। खेवा वंशावली पृष्ठ १८ अनुसार होङदेन हाङलाई नै छोङदेन हाङ आठपरिया लेखिए अनुसार भने छोङदेनहाङको ससुरा वा खेवा वंशको दशौं पीढी हाङजिलीहाङदुम्बा छैटौँ वा सातौं शताब्दीतिरका हुन भन्ने सङ्केत गर्दछ। यदी खेवा वंशको दशौं पीडी हाङजिलीहाङदुम्बा बि.स १५०० सय शताब्दी यताको हो भन्ने ऐतिहासिक प्रमाण जुटाउन सक्नु हुन्छ भने चाहिँ इतिहासको स्वीकृत माप दण्ड अनुसार एक पुस्ताको आयु २५ वा ३० बर्षको दरले भाग लगाउँदा हाङजिलीहाङदुम्बा भन्दा यताका ९ जना खेवा पुर्खाहरुलाई अथवा काङसोरे तिगेला खेवा बि.स १८३१ तिरका हुन आउँछन यदी होइन भने यो इतिहासको कागजी लडाइँमा सिङगौंरी खेल्नु सिवाय अरु केही हुन सक्दैन।  काङसोरे फागो वनेम र काङसोरे तिगेलामा कस्तो भिन्नताछ? फागो वनेम काङसोरे (काङवा)– बाजेको नाम–जैकर्ण राय (जयकर्ण) फागो वनेम्बा (चयनपुर–चैनपुरको मुख्य सुभा उनका नाममा भएका बि.स १८३१ देखि १८४८संम्मका कस्यरक्का र लालमोहर अनुसार) बाबुको नाम–गंगा राय जन्म―बि.स १८०५ चैत्र,राम नवमी, संखुवासभा मैदाने विवाह–अविवाहित  सहादत–२५ वैशाख १८३१ तिगला खेवा काङसोरे – (तपाइले दिनु भएको बुँदा अनुसार) बाबुको नाम–कुम राय जन्म–बि.स १८०० छथर सुदाप विवाह–बि.स १८२१ श्रीमतिको नाम–फुङमति  सन्तान–कनराय (बि.स १८२४),केयुराय (बि.स १८२८),गर्भे टुहुरो (बि.स १८३१) सहादत–२५ वैशाख १८३१ नोट:–मानव उत्पति र खेवा वंश पृष्ठ ४९ (खेवा वंशावली) अनुसार खेवा वंशका काङसोरेका संन्तानहरु निम्न अनुसार छन्। (क) कन्न राय तिगेला खेवा (ख) केमु राय  तिगेला खेवा (ग) अर्थवीर तिगेला खेवा (घ) रमन सेन (राम्रोसिं) तिगेला  खेवा वंशमा लेखिएको काङसोरेका संन्तानहरु र तपाइले पेश गर्नु भएको काङसोरेका संन्तानहरुमा यस्तो भिन्नता नहुनु पर्ने हो। बुझ नसक्नुको नाटक मञ्चन हुँदा यस्तै सत्यहरुले सत्य बोल्न छाड्दैनन् कि कसो? नत्र वंशावलीमा लेखि सकिएका वंशका नामहरु स्व विवेकले तल माथि गर्नु हुँदैन कि? कन्नरायलाई कन राय,केमु रायलाई केयुराय लेख्नु भएकोछ। वंशावलीमा स्पष्ट लेखि सकिएको वा जन्मी सकेको अर्थवीर तिगेला खेवालाई गर्भे टुहुरो भन्नु भएकोछ। अर्को भाइ रमन सेन (राम्रोसिं) तिगेलाको त नाम नै हटाउँनु भएकोछ। इतिहास बनाउने लहडमा लेखि सकिएको वंशावलीका वंशहरुलाई खुशी खुशीले घटाउन र बढाउन पाइन्छ भने त जे लेखे पनि भयो,जे भने पनि भयो। त्यही सिद्धान्त अपनाएर फागो वनेम काङसारेलाई तिगेला खेवा भनिएको हो भन्ने कुरा पाठकहरुले पनि बुझ सकेको हुनु पर्छ।      काङसोरे (काङवा) फागो वनेम हुन भन्ने आधारहरु  १.काङसोरे (काङवा) फागो वनेम्बाको बाजे जैकर्ण (जयकर्ण) राय फागो वनेम्बाको नाममा विभिन्न लाल मोहर र कस्यरुक्काहरु जारी हुनुका साथै विभिन्न इतिहासमा उल्लेख भएकोछ।  २.नेपाल एकिकरणको दौडानमा गोर्खाली सैन्यको दवाव सहन नसकी बत्तिस हजार लिम्बूहरु मध्ये धेरै संखुवासभाका फागो लिम्बूहरु मुङलान भागेका थिए। किन भने जैयकर्ण (जयकर्ण) फागो वनेम्बा गोर्खाली सैन्यको विरुद्धमा लड्ने नेती (आफ्नै धर्म र कर्म संस्कार) संस्कार मान्ने चैनपुरका सुभा थिए।  ३.पहलमान सुब्बा–सिक्किम लिम्बू अनि लिम्बू भाषा–पृष्ठ ७७ अनुसार गोर्खाहरुको विजय पछि लिम्बूवान (चैनपुर) का लोग्नेमान्छे मात्र नभएर आईमाई,केटा–केटी समेतलाई पकडेर निर्दयपूर्वक मारेका थिए। लिम्बू नेताहरुलाई सम्झौता गर्नको लागि बोलाएर अन्य कुरामा अल्मल्याई रात पारेर छाप्रोमा सुत्न लगाई सुति सकेपछि गोर्खाहरुले चारैतिरबाट आगो लगाएर मारेका थिए। दोश्रो पीडीका नेताहरुलाई रातो पोलेको फलाम समाउन लगाएर वा उम्लिएको पानी या तेलमा हात चोब्न लगाएर अत्याचार र नीर्दयताको दण्ड “सिक्कम पटि्ट लागिन” भन्ने सावित गर्न ति सजायका उपायहरु रचिएका थिए।  ४.लिम्बू लिपि,भाषा,संस्कृति तथा इतिहासका ज्ञाता तथा ब्रिटि्रस रेसिडेन्ट बी.एच् हडसनको हवाला दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा आयामेली कवि वैरागी काइँलाले उक्त हृदयविदारक जेनोसाइडको शब्दचित्र यसरी उतार गरेका छन्। .........हेप्मोसा याक्थुङ्बाहा कुल केजोगिभाङ।। खुन्छि नाभाक हेप्मो तारुसिङ नेस्सुआङ ओरु चिजिङ केलवेन सेप्रासापा चोगुरोभाङ मेजुप्तुसि।। चिजिङ मेन्लबेन चित्तिताभाङ मेलेरुसिरो।। क्रर्खाले आम्फाबा पासिङ चोगुरो।।             
 चैनपुरमा गोर्खा फौज बसेका बेला गोर्खा अफिसरलाई कसैले पोलझोस गर्दा तिमी लिम्बूहरुले अघि छलकपट गर्यौ भनेर उनका कानमा तारुसिङ (तारुबाँस) राखेर डढाउँदा जिरिङ्ग गर्ने जतिलाई गोर्खालीहरुले दोषी ठहर्‍याएर काटी मारे। नकाम्नेहरुलाई निर्दोष भनेर छोडिदिए र कतिलाई आफ्नै जातभित्रको सदस्य बनाए।  ५.तान्छोप्पा बर्ष १४ अङ्क ८ मा वीर नेम्बाङले लिम्बूवानमाथि जेनोसाइडको ऋङखला शिर्षकमा (नेम्बाङको प्रकाशोन्मुख कृति भञ्जबात लिम्बूवान) लेखेका छन। यता गाउँ नछाडी बस्ने फुकन,फेदाप,नावाका लिम्बू बूढापाकाहरुलाई सरसल्लाह र सन्धी गर्नका लागि जम्मा पारी राति सुतेको बेला छाप्रोमा आगो लगाएर माथि (पहाड) र तल (तराई) सबैतिरका लिम्बूहरुलाई एकै पटकमा मारे। त्यस पछि चैनपुरको सबै फागो लिम्बूहरुलाई विजयपुरमा जम्मा हुन बोलाए। अब यौटै फूल हुनुपर्छ तर अघि तिमीहरु सिक्किमे भोटेहरुलाई मद्धत गर्‍यौ,उत्ता लाग्यौ भनेर दोष दिए। तिनले तेल उमालेर त्यसमा फलाम रातो बनाई “त्यहाँ हात डुबाइकन हो कि होइन भन” भनेर बिराम गर्ने नगर्ने सबैलाई हात डुबाउन लगाउँदा कति फागो लिम्बूहरुको हातहरु डढेर डुँडे भए। पृथ्वी नारायण शाहका भाई सुर प्रताप शाहका आँखा फुटाई दिएको प्रतिसोध (वदला) स्वरुप निहत्था कीर्तिपुरवासीहरुको १७ धार्नी नाक,कान काटने गोर्खालीहरुले सिक्किम पट्टि लाग्ने फागो लिम्बूहरुलाई यस्ता सजायहरु दिएनन् भन्न सकिने ठाउँ छैन। ६.यी माथिका कुनै पनि ऐतिहासिक घटना क्रममा छथर थुममा बसोबास गर्ने खेवा वंशको सहभागिता नदेखिएको हुनाले गोर्खाली विरुद्द चैनपुरको युद्धमा छथरे खेवाहरुको सहभागिता थिएन। यदी भएको भए छथरे खेवाहरु पनि मुङलान भाग्नु पर्दथ्यो वा उनीहरुको पनि हात डढाइन्थ्यो वा ज्यानको सजाय पाउन कसुरदार ठहरिएका कतै न कतै इतिहासमा उल्लेख हुने थियो।। ७.फागो वंशावली अनुसार फागो वनेमहरुको पुर्खा हामयुङ्बा र हामसेङ्बाले मिल्खु पूर्व पश्चिम भाग बण्डा गरेर आफ्नो राज्य स्थापना गरेको हुनाले जङगला मुलुक आवादी गरे देखि नै उक्त क्षेत्रमा उनीहरुकै संन्तानहरुको सर्वेसर्वा थियो। त्यो वंशगत जमिनको अधिकार गोर्खाली राजा पृथ्वी नारायण शाहको राज्य विस्तारसंम्म कायम थियो भन्ने प्रमाण चैनपुरमा जैकर्ण (जयकर्ण) राय फागो वनेम्बा र मिल्खु डाँडा पूर्व श्री देव राय (श्री सिर्देउ काजी) मैवा खोलाका प्रमुख सुभा भएको लालमोहर,कस्य रुक्का र सनद सवालहरुबाट स्पष्ट हुन्छ।३ (हेर्नु : –शिव कुमार श्रेष्ठको लिम्बूवानको ऐतिहासिक अध्यन) ८.हाल संखुवासभाको सिद्ध पोखरी वडा नं. २,३,४,५, मा उनै जैकर्ण वनेम्बाका सन्तानहरु बसोबास गर्दै आइ रहेका छन। उनैका संन्तानहरु मध्ये आशिकराम डिट्ठा र रामपोती बिचारी दुई जना पुर्खाहरु चैनपुरका कहलिएका सुब्बाहरु थिए। उनीहरुकै सन्तान सु.दिल नारायण फागो वनेमबाट बि.स २०४५ सालमा इतिहासकार डा.रमेश ढुङगेलले बि.स १७३३ सालमा फागो वनेमहरुका पुर्खाहरु श्रावजा,फेश्राप र नपुरान फागो हाङहरुको नाउमा लगतपुरी (?) मुकामबाट जारी भएको स्यामोहरको नक्कल प्राप्त गरेका थिए। उक्त स्यामोहरको प्रतिलिपि र फोटोकपि अन्वेषक डा.रमेश ढुङ्गेलसंग भए पनि मूल प्रति सु.दिल नारायण फागो वनेमसंग रहेकोछ।४   ९.दुइ संस्कार विज्ञ,नौ येबा र पाँच फेदाङ्मा (पुरोहित) संग प्रत्यक्ष कुराकानी साथै लिम्बू जाति संम्बन्धि लेखिएका १ सय २५ पुस्तक अध्यन गरि लिम्बूवानमा भएका घटित घटनाहरुको खोज अनुसंन्धानकर्ता तथा “लिम्बूवान्” पुस्तकका लेखक श्री अर्जुनबाबु माबुहाङ अनुसार उक्त लडाईमा मैदानेका फागो वनेम काङसोरेलाई नाहाङ्मा शक्ति (पुर्खौली शक्ति) चढी रघु राना माथि विजय गरेका थिए। १०.खेवा वंशको काङसारे तिगेला खेवा गोर्खाली सैन्य विरुद्ध लड्ने काङ्सोरे भएको भए बि.स २०५५ सालमा विभिन्न अध्यन अनुसंन्धान गरि प्रकाशित गरिएको भनिएको खेवा वंशावलीमा उल्लेख गरिनु पर्दथ्यो। खेवा वंशावलीमा कतै उल्लेख नहुनु वंशावली लेखनको त्रृटि भन्न मिल्दैन। कारण बि.स २०५५ साल भनेको जनताले बोल्न पाउने,लेख्न पाउने,बहस तथा अन्वेषण र इतिहासको खोजी गरि लिम्बूवानका धेरै लिम्बू थरीहरुको वंशावलीहरु प्रकाशित भई सकेको जमाना हो/थियो। ११.यी माथि लेखिएका इतिहासका केस्रा केस्रा केलाएर हेर्दा हाल संखुवासभा चैनपुरको इतिहासमा कतै पनि छथरका खेवा वंशको उपस्थिति देखिन्दैन। आफ्नो वंशमा काङसोरे तिगेला खेवाको नाम  मिलेकै आधारमा बि.स १८३१ को गोर्खाली सेना विरुद्ध लड्ने काङसोरे हाम्रो पुर्खा थिए भन्नु संयोग मात्र हुनेछ इतिहासले प्रमाणीत गर्न सक्दैन।   अब तपाईको बुँदागत आधारहरु हेरौं   १.खेवा तिगेलाहरु परापूर्वकालमा फेदाप,छथर ताक्लुङयकमा राज्य गर्दथे। खेवा वंशले परापूर्वकालमा फेदाप,छथर सेत्लुङ (ताक्लुङ) यकमा राज्य गर्दथे। धेरै इतिहासमा यो इतिहास उल्लेख भएकोछ। तर काङसारे खेवा वंशका हुन वा होइनन् भन्ने कागजी युद्द यस्ले कुनै अर्थ राख्दैन। ताक्लुङयकको इतिहास करिव छैटौं वा सातौं शताब्दी अघि र बि.स १८३१ को गोर्खाली राज्य विस्तारको समयमा आकाश धर्तीको भिनन्ता थियो। २.बुद्धिकर्ण खेवाहाँङ विजयपुरका राजा थिए। यो विषय माथि पनि उठान भइ सकेकोछ। उनी जन्म सिद्ध वा खेवा वंशमा जन्मेर वंशगत राजा भएका होइनन्। राजा र मन्त्रि वीचमा मनोमालिन्य भए पछि कामदक्तसेनको हत्या गरे पछि राजा बनेका हुन। उनी खेवा वंशका हुन भन्ने स्पष्ट इतिहास पनि लेखिएको छैन। इमानसिंह चेम्जोङले बुद्धिकर्ण खेबाङ भनेका छन। जो खेवाङ थरी लिम्बूहरु ताप्लेजुङ जिल्लाको खेवाङ गाउँमा बसोबास गरि रहेका छन। इतिहासकार श्री सि.एम. देवान याख्खा द्धारा लिखित पुस्तक “विजयपुरे बुद्धिकर्ण किरात” मा स्पष्ट खेवा नभएर खेवाङ भएको प्रमाणीत गरिएकोछ।५ बरु त्यतातिर इतिहासको खोजी गर्न लाग्नु भयो भने प्रमाणीत हुन सक्छ। जसरी क्षेत्रकै आधारले पनि काङसोरे चैनपुर मैदानेका थिए भन्ने पाठकले बुझ्द्छन त्यसरी नै छथरबाट विजयपुरको दुरी नजिक भएको हुनाले खेवा हुने सम्भावना रहन्छ। उनी विजयपुरको स्वतन्त्र युद्ध पक्षमा अन्तराष्ट्रिय समर्थन जुटाउन ल्हासासंम्म पुगेका थिए। तर सन १७७७ सालमा सुनराय लिम्बूको सुराकीमा कामदक्त सेनको हत्या गरेको निहुँ बनाएर गोर्खाली सेनाद्धारा हत्या गरिएको थियो। ३.खेवाहरु लडाकु थिए त्यसैले हात्ती खर्कबाट छोङदेनहरुलाई युद्धमा जितेर खेदाएका थिए। यो तर्क पनि सतही र हचुवाकै भरमा अघि सार्नु भए जस्तो लाग्यो।  म तपाईहरुकै वंशावली “मानव उत्पति र खेवा वंश” पृष्ठ ३२  मा “सुदाप र हात्तीखर्कमा मूर्तिढुङ्गा खेवाहरुको बसोबास” शिर्षकलाई अघि सार्न अनुमति माग्छु। उक्त शिर्षकमा लोकेन्द्र बहादुर तिगेला (हात्तिखर्क–२ धनकुटा) ले यसरी लेखेका छन। तेह्थुम सुदाप थाक्लुङ (ताक्लुङ) गढको राजा हाङ्जिली हाङदुम्बा खेवाको समयमा नै हात्तिखर्क (धनकुटा) मा छोङ्देनहाङ राजाले शासन चलाएका थिए। हात्तिखर्कका छोङ्देनहाङ (होङ्देन) राजाले शासन गरि रहेको बखतमा खाल्सा पारका रुदुहाङ् भन्ने राई राजाले छोङ्देनहाङ राजालाई लडाइँ गरि खेद्ने कोशिश गरि रहेको समयमा छोङ्देनहाङ ससुराली हाङजिलीदुम्बाहाङ् संग सहयोग मागि रुदुहाङ् राजालाई छाम्लाङ खोला पार गराई सिमाना बाँधी दिएका हँुदा केही समय पछिबाट छोङ्देनहाङले ससुराली हाङजिलीदुम्बाहाङ्लाई हात्तिखर्क सुम्पि दिई आफु धनकुटा चुलिबन आसपास आफ्नो संपूर्ण शाखा संन्तानहरुलाई लिई गएका थिए। वंशावली भनेको सबै वंशको सर्व सम्मत भई सम्पूर्ण अध्येता,पाठक एवं आफ्नै वंशहरुलाई हाम्रो पुर्खौली इतिहास यस्तो थियो भन्ने जानकारी गराउँने पुस्तक हो। तर उक्त माथि दिनु भएको बुँदा नं. “मानव उत्पति र खेवा वंश” पृष्ठ ३२ भन्दा धेरै फरक मत प्रकट भएको देखिन्छ। छोङ्देनहाङले ससुराली हाङजिलीदुम्बाहाङ्लाई हात्तिखर्क सुम्पि दिई आफु धनकुटा चुलिबन आसपास गएको इतिहासलाई खेवाहरु लडाकु थिए त्यसैले हात्ती खर्कबाट छोङदेनहरुलाई युद्धमा जितेर खेदाएका थिए भनेर लडाकु बन्न खोज्नु भएकोछ। आफ्नै वंशावली भन्दा पनि फरक मत राख्दा के सत्य र इतिहास सम्मत इतिहास लेखिन्छ त? वा गोर्खाली विरुद्ध लडने काङसोरेवारे कति सत्य इतिहास प्रस्तुत गर्दै हुनु हुन्छ यही बुँदाबाट पनि स्पष्ट हुन सकिन्छ।  ४.पृथ्वी नारायण शाहका सेनापति रघु रानासंग भएको युद्धस्थल खेवाहरु बसोबास गर्ने ठाउँ नजिक हुनु। प्रकाशोन्मुख फागो वंशावली र इतिहास अनुसार फागो वनेमहरुको पूर्खाहरु हामयुङ्बा र हामसेङ्बाले आठौं शताब्दीको उत्तराद्धतिर मिल्खु पूर्व पश्चिम (संखुवासभा) अंश बण्डा  गरि जङगला मुलुकलाई आवाद गरेका थिए। अरुण नदी पूर्वको विशेष चैनपुर क्षेत्र र मिल्खु पूर्वका गाउँहरुमा उनै पुर्खाहरुका संन्तानहरु बसोबास गरि रहेका छन। बि.स १८३१ सालमा गोर्खाली सैन्य विरुद्ध तिनै क्षेत्रमा विषण युद्ध भएको थियो। त्यहीका रैथाने जैकर्ण राय फागो वनेम्बाका फौजले लिम्बूवानको लागि प्राणको आहुति दिएका थिए। यस्तो प्रमाणिक इतिहासको छेउमा तपाई तर्क पेश गर्दै हुनु हुन्छ पृथ्वी नारायण शाहका सेनापति रघु रानासंग भएको युद्धस्थल खेवाहरु बसोबास गर्ने ठाउँ नजिक छ त्यसकारण गोर्खाली विरुद्ध लडने काङसोरे खेवा नै हुनु पर्छ। त्यही बसोबास गर्ने हाम्रा पुर्खाहरुले गोर्खाली विरुद्ध लडाइँ लडेकोहो भन्यो भने प्रमाणित गर्नु पर्ने र खेवाहरु बसोबास गर्ने ठाउँ अरुण नदी नजिक भएको हुनाले काङसोरे खेवा भएको प्रमाणीत हुन्छ भन्ने तर्क कति युक्ति संङगतछ विचार गर्नु होला। कुन युद्धस्थलको प्रसङगमा यो बुदाँ राख्नु भएको हो? अरुण नदीको दोभानबाट छथर वा हात्ती खर्क टाढाको दुरी हो।   ५.खेवा तिगेलाको वंशावलीमा बुद्धिकर्ण,भर्तवीर र काङसोरे उल्लेख हुनु र युद्ध भएको समयसंग ठ्याक्क मिल्नु।   मानव उत्पति र खेवा वंश (खेवा वंशावली) पृष्ठ ३८/३९/४० अनुसार इल्लिहाङ तिगेला खेवाको जम्मा ७ जना छोराहरुको जन्म भएको थियो। जेठी श्रीमति तर्फको जेठो छोरा भर्तवीर तिगेला खेवाको जन्म बि.स १८१२ सालमा धनकुटा जिल्लाको हात्तिखर्कमा नै भएको थियो। बच्चा उमेर देखि नै भर्तवीर तिगेला खेवा शिकार खेल्न धनुषवाण चलाउन रुची राख्ने भएको हुँदा उनको जीवनमा शिकार गर्नु ब्याबशाय नै भइ सकेको थियो। उनी एक दिन धनुवाण लिएर आफ्ना डुक्सिङ र बाक्सिङ नाम गरेका सहयोगीहरुका साथ हात्तीखर्क,ओख्रे खोलातिर हुँदै माङमाया खोलाको तिरैतिर अरुणको गडतीरबाट कोका खोला हुँदै हाल विजयपुरमा आई पुगे। विजयपुर पुगेको भोली पल्ट विहान आफ्ना चेली पद्मावति र सहयोगीहरुलाई छोडी भतिज जहानपिर तिगेलासंग शिकार गर्न लागे। एकाविहान एउटा शिकारमाथि धनुवाण प्रहार गरे। तर कहिल्यै नचुक्ने वाणको प्रहार चुके पछि जहानपिरलाई भने हेर! भतिज आजसंम्म मैले प्रहार गरेको वाण कहिल्यै पनि असफल भएको थिएन। जो आज भयो अव कलि युग ब्याक्त भएछ। शिकारी देव देवताले मानवहरुलाई बल शक्ति दिने छैनन। त्यसैले म आज देखि शिकारी आत्मा र शिकारी हात हतियारहरु यही राखेर अन्त्य हुनेछु भनेर उनी त्यही अल्पिए। साराम्शमा मानव उत्पति र खेवा वंश (खेवा वंशावली) पृष्ठ ३८/३९/४० को इतिहास यही हो। उनी बि.स १८१२ सालमा जन्मेका थिए भने पछि करिव २० वा २५ बर्षमा शिकार खेल्न गएर अल्पिएका थिए भने यो समय भनेको बि.सको करिव बि.स १८३७ को घटना हुनु पर्छ। अव प्रश्न उठन सक्छ के बि.स १८३७ तिर कलियुग ब्याक्त भयो अव म यहीँ अल्पिन्छु भन्दा अल्पिने सत्य युगमा अल्पिने ऋषीमुनीहरुको दन्त्य कथा जस्तो समय थियो होला र? मानव उत्पति र खेवा वंश अनुसार उनै भर्तवीर अल्पेको ठाउँ वा भर्तवीरको चिहान नै हालको बूढा सुब्बा हो। यो इतिहास कति सत्यको नजिकछ वा यो इतिहास लेखनको पृष्ठभूमिवारे पाठकहरुले ममन् गर्नै पर्ने हुन्छ।                             
 धेरै इतिहासकारहरुले हालको बुढा सुब्बाको मन्दिर बुद्धिकर्ण खेबाङ (खेवा?) को चिहान हो भन्ने इतिहासमा लेप्चे ठोकेका छन। खैर जेहोस यी दुई घटनासंग गोर्खा विरुद्ध लडने काङसोरे तिगेला खेवा हो भन्ने वारे गोरु बेचेको साइनो जोड्दैन। बि.स १८३१ तिर तिगेला खेवाको वंशावलीमा देखिने काङसोरे संयोग मात्र हो। अथवा एक जना खेवा पुर्खाको नाम काङसोरे राखिनु कुनै अनौठो कुरा होइन। ऐतिहासिक दस्तावेजमा लेखिएको प्रमाण भएको भए अर्कै कुरा हो। यो वहसमा ऐतिहासिक पृष्ठभूमि र भौगोलिक क्षेत्रको आधारमा ती तत् क्षेत्रमा क–कस्को उपस्थिति थियो र के कस्ता दस्तावेजहरु फेला परेका छन ति ऐतिहासिक तथ्यहरु नै मुख्य आधार हुन।   ६.झण्डै आधा दर्जन इतिहासको पुस्तकहरुमा काङसोरे तिगेला भएको उल्लेख हुनु।    कुन कुन इतिहासकारहरुले कुन कुन इतिहास पुस्तकको कुन कुन पृष्ठमा उल्लेख गरेकाछन पुस्तकको नाम र काङसोरे तिगेला खेवा भएको पृष्ठ नं. उल्लेख गर्नु होला। जसरी मलाई “किरातकालीन विजयपुरको संक्षिप्त इतिहास” पुस्तक पृष्ठ ९१ वारे गम्भिर ध्यान आर्कषण गराउँनु भएको थियो र मैले उक्त पुस्तकको प्रकाशक साथै संस्करण मिति अनि पृष्ठ नं. ११४ समेत तोकेर उपलब्ध गराएकोछु।  ७.तिगेलाले दावी गर्नु अगावै कसैले दावा नगर्नु दावी गर्नु ठूलो कुरो होइन प्रमाण ठूलो कुरा हो। कस्तो ऐतिहासिक आधारहरु जम्मा गरेर तपाईहरुले हाल संखुवासभा जिल्लाको अरुण नदी सभा दोभानमा गोर्खा विरुद्ध लडने काङसोरे फागो वनेमलाई तिगेला खेवा भनेर दावा गर्नु भयो थाहा भएन। फागो वनेमहरुको वंशावली लेखिनु अघि र लेखिनु शुरु भए देखि यता गोर्खाली विरुद्ध लडेर लिम्बूवानको लागि शहीद भएका काङसोरे फागो वनेमहरुको पुर्खा हुन भन्नेमा प्रष्ट थियो। माथि उल्लेख भएको प्रमाणहरु नै काङसोरे फागो वनेम थिए भन्ने यथेष्ट सबुत हुन। ऐतिहासिक पृष्ठभूमि र फागो वनेमहरुको बसोबासको क्षेत्रको आधारले पनि काङसोरे फागो वनेम बंश बाहेक अन्य जात थर हुन सक्दैन भन्ने कुरा साधारण इतिहासको पाठकहरुले अनुमान गर्ने कुरो हो। ८.जनमानसमा काङसोरे तिगेला भएको बुझाइ हुनु र तिगेलाहरुलाई काङसोरेका संन्तान भनिनु कस्तो ऐतिहासिक प्रमाणको आधारमा कस्ले भनेको हो उसैलाई थाहा होला। तर अहिले संम्मको संचार माध्यममा तिगेला वंशले प्रचार प्रसार गरेको बाहेक काङसोरे तिगेला खेवा थिए भन्ने कतै उल्लेख भएको देखिन आएको छैन। लिम्बूवानका एक बुद्धिजिवी तिलबिक्रम कन्दङवाले काङसोरेवारे फागो वनेम वंश बाहेक अरुले आफ्नो वंशमा जोडन खोज्नु लाज मर्दो कुरा हो भनेर मुख खोली सकेका छन।  ९.खेवा वंशावली प्रकाशन भएको तीनचार बर्ष पछि मात्र काङसोरेको चर्चा शुरु हुनु हाम्रो वंशावली बनाउने क्रममा काङसोरेवारे चर्चा भइ रहेकै हो। तपाईहरुको कानसंम्म नपुग्नु अर्कै कुरा हो। हामीलाई कस्तो लागेको थियो भने गोर्खाली विरुद्ध लडाइँ भएको ऐतिहासिक क्षेत्र साथै अन्य दस्तावेजहरुको आधारमा कसैले दावा गर्दैनन् होला भनेर काम सुस्त चली रहेको थियो। ठ्याक्क त्यसै वेला तपाईहरुले वाण हान्नु भो। यसलाई संयोग नै मान्नु पर्ला।  अन्तमा : –  यी माथिका इतिहासकारहरुको ऐतिहासिक प्रमाण,कस्यरुक्का,लालमोहर,वंशावली,फागो वनेमहरुको  भौगोलिक बसोबास क्षेत्र र खुद काङसोरेका दाजु गंगा रायका संन्तानहरुको वंश क्रम अनुसार रघु राना विरुद्ध लडने काङसोरे फागो वनेम हुन भन्ने प्रमाणीत गरेकोछ ।
किरातकालीन विजयपुरको संक्षिप्त इतिहास,दोश्रो संस्करण पृष्ठ, ११४,११५
काङ्सोरेको प्रतिमा बनाउन लागिएको तस्बिर र कत्ले भञ्ज्याङतत्कालीन चैनपुरका शुभा (हाङ) जयकर्ण राय फागो वनेम्बा (वनेम) र सिन्धोलुङ मैवा खोलाका श्री सिर्देउ राय फागो वनेमले पाएको कस्यरुक्काको फाटो कपि श्रोतहरू ;- १.इमानसिं चेमजोङ– किरातकालीन विजयपुरको संक्षिप्त इतिहास पृष्ठ ९१ २.इमानसिं चेमजोङ– किरातकालीन विजयपुरको संक्षिप्त इतिहास,दोश्रो संस्करण पृष्ठ, ११४,११५./शिब कुमार श्रेष्ठ– लिम्बूवानको ऐतिहासिक अध्यन,पहिलो संस्करण २०४२, पृष्ठ १२७ ३.शिव कुमार श्रेष्ठ–लिम्बूवानको ऐतिहासिक अध्यन पृष्ठ १२६,१२७,१२९,१३१, ४.डा.रमेश दुङगेल–पल्लो किरातको चैनपुर : एक महात्वपूर्ण ऐतिहासिक प्रदेश पृष्ठ ३/४ ५.C.M देवान (Yakkha)–विजयपुरे बुद्धिकर्ण किरात,June 2003

किरातकालीन विजयपुरको संक्षिप्त इतिहास,दोश्रो संस्करण पृष्ठ, ११४,११५
काङ्सोरेको प्रतिमा बनाउन लागिएको तस्बिर र कत्ले भञ्ज्याङतत्कालीन चैनपुरका शुभा (हाङ) जयकर्ण राय फागो वनेम्बा (वनेम) र सिन्धोलुङ मैवा खोलाका श्री सिर्देउ राय फागो वनेमले पाएको कस्यरुक्काको फाटो कपि श्रोतहरू ;- १.इमानसिं चेमजोङ– किरातकालीन विजयपुरको संक्षिप्त इतिहास पृष्ठ ९१ २.इमानसिं चेमजोङ– किरातकालीन विजयपुरको संक्षिप्त इतिहास,दोश्रो संस्करण पृष्ठ, ११४,११५./शिब कुमार श्रेष्ठ– लिम्बूवानको ऐतिहासिक अध्यन,पहिलो संस्करण २०४२, पृष्ठ १२७ ३.शिव कुमार श्रेष्ठ–लिम्बूवानको ऐतिहासिक अध्यन पृष्ठ १२६,१२७,१२९,१३१, ४.डा.रमेश दुङगेल–पल्लो किरातको चैनपुर : एक महात्वपूर्ण ऐतिहासिक प्रदेश पृष्ठ ३/४ ५.C.M देवान (Yakkha)–विजयपुरे बुद्धिकर्ण किरात,June 2003

No comments:

Post a Comment