Sunday, May 27, 2012

सभासद्ले लाज पचाएपछि…


दिपेन योङहाङ

यो अवधिमा कतिपय महिला सभासदले श्रीमान्, प्रेमीलाई तथा पुरुष सभासद्ले पत्नी र प्रेमिकालाई समेत पिए नियुक्त गरे । उत्पीडित जातिको मुक्तको कुरा गर्दै १३ हजार बढीको रगतको खोलो बगाउने विगतको कथित जनयुद्धका अगुवा प्रचण्डले समेत आफ्नो पिएमा छोरा प्रकाशलाई नियुक्त गरी राज्यको सुविधा आफ्नै महलमा भित्र्याए । सार्वजनिक भएपछि पनि आफ्नो सुरक्षामा सन्तु दराइलाई कमाण्डर नियुक्त गर्नेले राज्यको सुविधा पाउने पिएमा छोरालाई नियुक्त गरे । युद्धपीडितहरुले टाउको लुकाउने छाप्रो नपाइरहेका बेला, टुहुराहरु शिक्षाको अवसरबाट बन्चित भइरहेका बेला ….. करोडको महलमा मदिरामस्त ऐयासी जीवन बिताउने उनै भनिरहेका हुन्छन्, उत्पीडित वर्गको मुक्तिका लागि हामीले जनयुद्ध लडेका हौं….। हामी परिवर्तनका हिमायती हौं….।
प्रचण्ड मात्रै होइन, जनयुद्धबाट आएका तथा जातीय एवम् बर्गीय मुक्तिको चर्काका कुरा गर्ने अधिकांशले अधिकांशले आफ्ना जीवनसाथी, छोराछोरीलाई पिए बनाउने काम गरे । अमिक शेरचनले छोरा क्रमिकलाई, कृष्णबहादुर महराले पनि छोरा राहुललाई, पोष्टबहादुर बोगटीले ज्वाईँ निर्मल आचार्यलाई, सुरेश आलेले श्रीमती मनमाया थापालाई, खडगबहादुर विश्वकर्माले छोरा नविनलाई, सरला रेग्मीले आफ्नै पति गुणराज लोहनीलाई, जनार्दन शर्माले सानिमाको छोरा अर्थात भाइ वसन्तराज शर्मालाई, देव गुरुङले सालीलाई पिए राखे । सुरुमा छोरा साजनलाई पिए बनाएका दिनानाथ शर्माले पछिल्ला दिनमा छोरीलाई अधिकार दिलाए । शिक्षामन्त्री भएका बखत त उनकी छोरी मन्त्रालयका सचिव किशोर थापाभन्दा पावरवाली थिइन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, वर्षमान पुन, हिसिला यमी, लेखराज भट्ट आदिलाई अपवादका रुपमा राख्ने हो भने परिवर्तन, सहिदको बलिदानी र आदर्शका चर्का कुरा गर्ने अधिकांश माओवादी सभासदले एकाघरका आफन्तलाई पिए नियुक्त गरेर सुविधा आफैँ हत्याएको प्रष्ट प्रमाण संसद सचिवालय शाखामा भेट्न सकिन्छ । लज्जास्पद भन्नुपर्छ, माओवादीका …. जना सभासदमध्ये एकजनाले पनि सहिद परिवारका टुहुराहरुलाई, गाँसको खोजीमा तड्पिरहेका युद्धपीडितहरु र सीमान्तकृत वर्गकाहरुलाई अवसर दिएका छैनन् ।
यस्तो रह्यो हरकत
संसद सचिवलाय स्रोतका अनुसार सुरुसुरुमा धेरै सभासद्ले वास्तविक पिए राखेका थिए । तर प्रचण्ड, प्रदीप ज्ञवाली, दिनानाथ शर्मा, शंकर पोख्रेल, शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, परि थापालगायतका सभासदले एकाघरका सदस्य राखेको तथा नाम अरुकै पेश गरेर पनि सुविधा आफैँले हात पारेको देखेपछि सोझासिधा सभासदले पनि त्यसको देखासिकी गर्न थाले । नागरिकताको फोटोकपि र निवेदन संसद सचिवालयमा बुझाएका भरमा पिए फेर्न पाइने भएपछि सभासदहरुमा इमानदारी स्यालको सिंग जत्तिकै दुर्लभ हुन पुग्यो ।मीना पाण्डेले छोरा समिपजंग पाण्डे, सन्तोषी विकले मन्जु विक, अमृता थापाले शर्मिला थापा, आरजु देउवाले मानबहादुर देउवा, सुरेन्द्र पाण्डेले संजीव पाण्डे, लोकेन्द्रबहादुर चन्दले भरत चन्द, सरला रेग्मीले सुधा रेग्मी, कमला रोकाले दिलिप रोकालाई पिए रोज्नु निकृष्टताका केही उदाहारण हुन् । त्यस्तै रमेश लेखक- ईश्वरप्रसाद जोशी, केशवप्रसाद नेपाल-अनुज नेपाल, पूजा खनाल- अनुपाकुमारी खनाल, गीता ठगुन्ना- हरित ठगुन्ना, रुपा विक- पार्वती बिक, रेणु चन्द- महेन्द्र चन्द, लीलाकुमारी बगाले- सीताकुमारी बगाले, धीरेन्द्रबहादुर श्रेष्ठ- सम्राट श्रेष्ठ, पुरनसिंह दयाल- राजेन्द्र दयाल, गोपालसिंह बोहरा- तरुणसिंह बोहरा, ती सबै एकाघरका सदस्य हुन् ।जातीय उत्पीडनको चर्का राग उरालेर देश टुक्रिनेसम्मको चेतावनी दिने मधेसी सभासदहरुमा त एकाघर बाहेककालाई पिए राखेको उदाहारण दुर्लभप्रायः रह्यो । सिरहाका राजलाल यादवले भोलानाथ यादव, धनुषाकी रामकुमारीदेवी यादवले रामकुमार यादव, सप्तरीका शिवचन्द्र मिश्रले संजीवकुमार मिश्र, मोरङका बाबुलाल पासवानले देवीलाल पासवान, रौतहटकी सरला यादवले सन्देश यादव, बाराका जितेन्द्रप्रसाद सोनालले अशोककुमार सोनाल, सुनसरीका लक्ष्मीलाल चौधरीले कृष्ण चौधरी, मोरङका अमिलाल झाँगडले चन्ददेव झाँगड, धनुषाकी प्रमिला यादवले शम्भुकुमार यादवलाई पिए बनाउनु परिवारवादका केही उदाहारण हुन् । त्यस्तै मिनाक्षी झाले छोरी ज्योत्सना झालाई, सरस्वती चौधरीले छोरा अमित चौधरीलाई, करिमा बेगमले पति सैयद अजहरुद्धिन अहमदलाई, कलावतीदेवी दुसाधले पति असर्फीहजरा दुसाधलाई, मुन्नीकुमारी गुप्ताले छोरा रोशन गुप्तालाई पिए रोजेर मधेस-मुक्तिको नारालाई छताछुल्ल पार्ने काम गरे । हलिना खातुनले चाहिँ हस्ताक्षरसमेत गर्न नजान्ने शिवधारी राय यादवलाई पिए बनाएर ‘सहयोग’ लिइन् । यस्ता उदाहारण अनेक रहे ।
द्धैधचरित्र छताछुल्ल
लज्जास्पद कुरा त यो हो कि तुलनात्मक रुपमा इमानदार ठानिएका सुप्रभा घिमिरे, प्रदीप ज्ञवाली, परि थापा, वलदेव शर्मा मजगैया, लालमणि चौधरी, शंकर पोख्रेल, मानवअधिकारकर्मीको पहिचान बनाएकी मोहमद्दी सिद्धिकीहरुसमेत पिएका मामलामा लज्जास्पद देखिए । सुप्रभाले नातेदार जानु घिमिरेलाई वलदेव शर्माले- वीरेन्द्रकुमार शर्मालाई, परि थापाले विकास थापालाई, लालमणि चौधरीले छोरा रविन चौधरी पिए नियुक्त गरेका थिए । शंकर पोख्रेल र प्रदीप ज्ञवाली पनि एकाघरबाट मुक्त हुन सकेनन् । मोहमद्दीले हासिम सिद्दिकीलाई पिए रोजेकी थिइन् ।पिए राख्ने मामलामा आपराधिक पृष्ठभूमि भएका बबन सिंह बरु इमानदार देखिए । उनले सचिदानन्द शर्मालाई पिए राखेका थिए । अनि सबैभन्दा बढी पिए फेर्नेमा समलिंगी सभासद सुनीलबाबु पन्त सबैभन्दा अगाडि रहे । सुरुमा झापा अर्जुनधाराकी मनकुमारी तामाङलाई रोजेका उनले जमुनी बर्दियाकी दिपिका पुन हुँदै छैटौं पटकमा भक्तबहादुर बलायरलाई पिए बनाए ।
त्यसो त वास्तविक पिए राखेर सुविधा दिलाउने सभासद््हरु हुँदै नभएका होइन । यो कुरा उनीहरुको दैनिक ब्यवहार र चालढालबाटै थाहा पाउन सकिन्छ । नरहरि आचार्य, प्रकाशमान सिंह, नीलाम्बर आचार्य, राधेश्याम अधिकारी, झलनाथ खनाल, नवीन्द्रराज जोशी, मनमोहन भट्टराई, प्रकाशचन्द्र लोहनी, गगन थापा, रवीन्द्र अधिकारी, सपना मल्ल आदि यसका उदाहारण हुन् । त्यसमा पनि पिछडिएको समुदायकै पिए राख्नेचाहिँ सम्भवतः कांग्रेसका नरहरि आचार्य मात्रै हुन्, जसका पिए नागमणि यादव छन् ।
========================================================

No comments:

Post a Comment